११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

३९ हजार शिक्षक दरबन्दी अभाव

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी चैतभित्र व्यवस्था गरिने बताएका छन्। जनविकास माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सव कार्यक्रममा उनले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र परिपूर्ति गरिने बताएका हुन्।

मन्त्री पोखरेलले स्थानीय तहबाट अपुग दरबन्दी सिर्जना गरिने जानकारी गराए। उनले सामुदायिक विद्यालयलाई सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै आत्मनिर्भर बन्न निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले त्यसका लागि व्यवस्थापन पक्षले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘शिक्षकले नै आफ्ना बालबालिकालाई आफू पढाउने विद्यालयमा लिएर आउदैनन,’ उनले भने, ‘शिक्षकले आफ्ना बालबालिका विद्यालयमा ल्याएर पढाउने हो भने स्वतः विद्यालयको शिक्षा परिवर्तन हुन्छ।’ मन्त्री पोखरेलले विद्यालय राम्रो बनाउने काम शिक्षकको भएको बताए।

हिजोको ढंगले विद्यालय नचल्ने उल्लेख गर्दै उनले विद्यालयलाई विकास, सीप र समृद्धिसँग जोड्नुपर्ने बताए। विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने खालको शिक्षा दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोही क्रिकेट राम्रो खेल्न सक्छ, कोही संगीत, कोही समाज सेवामा, कोही नाट्य क्षेत्रमा, सबैसँग फरकफरक प्रतिभा हुन्छ, ती प्रतिभालाई ठिक ढंगले प्रस्फुटन गराएर जीवनको बाटो देखाउनुपर्छ।’

अपुग दरबन्दी चैतभित्रै स्थानीय तहबाट सिर्जना गरिने मन्त्री पोखरेलको भनाइ

शिक्षा नीति आइसकेकाले अब शिक्षा ऐनको तयारीमा सरकार रहेको जानकारी उनले दिए। विद्यालयले अभिभावकसँग मिलेर विद्यार्थीको पठनपाठनमा काम गरे राम्रा विद्यार्थी उत्पादन हुने उनको भनाइ थियो। उनले विद्यालय तहबाट गणित विषय नहटाइएकाले कक्षा १० सम्म गणित अनिवार्य गरिएको जानकारी दिए। उनले संसारमा पढाइ हुने १० प्रकारका जीवनशैली पद्धतिअनुसारका शिक्षा कक्षा ११ मा सुरु गरिएको बताए। उनले शिक्षक अभाव रहेकाले स्वयंसेवी शिक्षक परिचालन गर्न थालेको जानकारी पनि गराए।

‘देश चिनौं, माटो चिनौं’ भन्ने अभियानअन्तर्गत स्नातक तह पासलाई ३० हजार र स्नातकोत्तर तह पास गरेकालाई ३२ हजार रुपैयाँ भत्ता दिएर स्वयंसेवी शिक्षक परिचालन गर्न थालेको जानकारी दिए। प्रधानाध्यापक सीताकुमारी ढकालले विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने भएकोले विद्यार्थीको आकर्षण बढेको बताइन्। २०३५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले कक्षा १२ सम्म पठनपाठन हुन्छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App