१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खाली गराउन प्रशासनको पत्र

तस्बिर: नगेन्द/नागरिक

सुर्खेत- १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय च्युरीखेतको १० विघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बावियाचौरलाई निर्देशन दिएको छ। स्थानीयले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक–ऐलानी जमिन २०६२ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए। विद्यालयको सो जमिन विभिन्न २४ जना व्यक्तिहरुले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माणका साथै खेतीपाती गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अतिक्रमणमा परेको विद्यालयको जमिन खाली गराउन पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बावियाचौरलाई निर्देशन दिइएको बताए। ‘विद्यालयको जमिन अतिक्रमणको समाचार आएपछि स्थानीय प्रहरीसँगको समन्वयमा खाली गराउन पञ्चपुरी नगरपालिकालाई पत्राचार गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, ‘नगरपालिकाबाट संभव नभए जिल्लाबाटै गएर भएपनि अतिक्रमणकारीहरुलाई हटाउँछौं।’

जिल्ला प्रशासन कार्यालयको पत्रपछि पञ्चपुरी नगरपालिकाले विद्यालय रहेको वडालाई छलफल गरेर समस्याको समाधान गर्न पत्राचार गरेको छ। नगरप्रमुख उपेन्द्रबहादुर थापाले विद्यालयको स्वामित्वमा रहेको जमिन अतिक्रमणको सन्दर्भमा छलफल गर्न वडा कार्यालयलाई जिम्मेवारी दिइएको बताए। ‘सरोकारवालाहरुलाई बोलाएर विद्यालयको जग्गा विवाद समाधान गर्न दुई नम्वर वडा कार्यालयलाई निर्देशन दिएका छौं,’ नगरप्रमुख थापाले भने, ‘वडा कार्यालयमा समाधान हुन नसके सरोकारवालाहरुलाई नगरपालिकामा उपस्थित गराउन निर्देशन दिएको छु।’ उनले वर्षौदेखिको समस्या भएकाले तत्कालै समाधान गर्न भने समस्या रहेको बताए।

१३ वर्षदेखि विद्यालयको १० विघा जमिन विभिन्न व्यक्तिहरुले कब्जाको समाचार नागरिक दैनिकले प्रकाशन गरेपछि प्रशासनले जमिन खाली गराउन पहल थालेको हो। प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्थानीयस्तरमै विवाद समाधानका लागि स्थानीय तहलाई पत्राचार गरिएको भएपनि त्यहाँबाट समाधान नभए प्रशासन आफैले हटाउने जानकारी दिए। ‘विद्यालयले प्रयोग गर्दै आइरहेको जमिन कसैले पनि कब्जा गरेर संरचना र उपभोग गर्न पाउँदैन्,’ उनले भने, ‘स्थानीय सरकारले जमिन खाली गराउन नसके आफै गएर हटाउँछौं।’

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई २०६२ सालमा स्थानीय समुदायले प्रयोग गर्दै आइरहेको १० विघा सामुदायिक–ऐलानी जमिन हस्तान्तरण गरेका थिए। विद्यालयको उक्त जमिन हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायतका २४ जना व्यक्तिले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण गर्नुका साथै विद्यार्थी खेल्ने मैदानसमेत खनजोत गरेर खेतीपाती गरेका छन्।

‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक–एलानी जमिन २०६२ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गर्नुभएको थियो,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जमिनमा अतिक्रमण सुरु भयो।’ अहिले विद्यालयको छ कोठे भवन मात्रै बाँकी छ।


 

प्रकाशित: ६ फाल्गुन २०७६ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App