३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

भैरवनाथ गणको पनि छानविन हुन्छ : वेपत्ता आयोग

काठमाडौं- आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ। मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले साे कुरा बताएका हुन्।

उनले वेपत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरु सम्पर्कमा आएको पनि बताए। आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उनले बताए।

आयोगका अध्यक्ष सुवेदीले ऐन संशोधनको तयारी सुरु भएको बताएका छन्। उनले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानूनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताए। अध्यक्ष सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको अनुसन्धान हुने पनि बताएका छन्।

यस्तै, वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालमा वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह समेत गरेको छ। आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका हुन्।

सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए। 'आयोगमा सम्पर्क गर्नुहोस्। परिपत्र दिनुपर्ने हो की, पत्र लेख्नुपर्ने हो की, कसैलाई भन्नुपर्ने हो की? हामी गर्छौ’, उनले भने।

आयोगले व्यक्ति हेरेर छानविन नगर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानविनको आधारमा निर्णय हुने बताए। ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आशंकाहरु नगर्न आग्रह गर्दै उनले भने, 'अनुसन्धानले को ठूलो को सानो भन्छ। हामीले गरेको अनुसन्धानको नतिजा हेरेर तपाईले मुल्याङ्कन गर्नुहोला।’
 

प्रकाशित: ६ फाल्गुन २०७६ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App