दुलेगौँडा- शुक्लागण्डकी–५ बेलचौतराकी विष्णु थापालाई आजभोली त्यति फुर्सद हुँदैन। घरधन्दा सक्नेवित्तिकै बिहान ९ बजे काम गर्न उद्योग जान्छिन्। दिनभर ढुंग्रो बनाउने काम गरेर साँझ ५ बजे फर्किन्छिन्। बिहान बेलुका घरायसी कामधन्दा सकेर फुर्सदमा हुने थापाको दैनिकी एक महिनादेखि फेरिएको छ। ‘काम गर्न थालेपछि त्यसै खेरा फाल्ने समयको राम्रै सदुपयोग भएको छ’, उनले भनिन्, ‘कामसँगै दाम पाएका छौँ।’ बिना काम फाल्तु बस्दा खर्च मात्रै धेरै हुने उनीसँग अनुभव छ। ‘साथीभाईसँग रमाउँदै काम गर्दा दिन बितेको पत्तै हुन्न आजकाल’, उनले भनिन्।
यहाँ काम गर्न थालेपछि शुक्लागण्डकी–६ खैरेनीटारकी कोपिला अर्यालले विदेशिएका श्रीमानको दुःखलाई बुझेकी छन्। ‘फेसबुक र युट्युब चलाएर दिनभर बसिन्थ्यो’, उनले भनिन्, ‘काम गर्न कति गाह्रो हुँदो रैछ महशुस भएको छ।’ ‘यहाँ काम गर्न थालेपछि आत्मनिर्भर बनाएको छ’, उनले भनिन्, ‘घरयासी खर्च, चुरापोते किन्नलाई श्रीमानले कहिले विदेशबाट पैसा पठाउने होला भनेर दिन पर्खनु पर्ने अवस्था छैन। आफ्नै कमाईले खर्च गर्न सकिन्छ।’
यहाँका पाँच जना युवाहरुको संयुक्त लगानीमा बेलचौतारामा माछापुच्छ्रे फुड प्रोडक्ट सञ्चालानमा ल्याएपछि बिष्णु र कोपिला जस्तै फुर्सदिला ३० जना महिलाले रोजगारीको अवसर पाएका छन्। फुर्सदमा दिन कटाउन मुस्किल हुनेलाई रोजगारीको अवसरसँगै सिप पाएका छन्। माघ १ देखि सञ्चालनमा आएको उद्योगले आफ्नै कमाईमा रमाउने बनाएको छ।
पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशङ्कर यादव र अभिषेक यादव सो उद्योगका लगानीकर्ता हुन्। ३५ लाख रुपैयाँको लगानी खोलिएको उद्योगमा ३५ जान कामदार छन्। जसमध्ये ३० जना महिला छन्। महिलाहरुलाई दैनिक दुई सय रुपैयाँ ज्याला दिएको उद्योग सञ्चालकले बताएको छ।
सञ्चालक जयशङ्कर यादवका अनुसार मकैको च्याख्ला र चामलको पिठोको समिश्रणबाट ढुंग्रो उत्पादन गरिन्छ। ‘स्वादिलो बनाउन मसला हाल्छौँ’ उनले भने। उत्पादित ढुंग्रो बिक्रीका लागी तनहुँका सबैजसो बजारमा पठाइन्छ। ‘पोखरा, नारायणगढ, बागलुङ र स्याङ्जामा पनि माग छ’, उनले भने, ‘भर्खरै सुरु भएकाले माग अनुसारको उत्पादन गर्न सकिएको छैन।’ उद्योगले निकट भविष्यमा चिजबलसमेत उत्पादन गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: ६ फाल्गुन २०७६ १०:४९ मंगलबार