२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अब्बल सामुदायिक विद्यालय

तस्बिर: जन माविका विद्यार्थीहरु।

सुर्खेत - अधिकांश सरकारी विद्यालयमा पढाउने शिक्षकहरु आफ्ना नानी–बाबुहरुलाई ‘गुणस्तरीय शिक्षाका लागि’ भन्दै निजी शिक्षण संस्थामा पठाउँछन्। आफैले पढाइराखेको शिक्षाप्रति उनीहरुको भरोसा हुँदैन्। त्यसैको देखासिकी समुदायले पनि गर्छ। ऋण गरेरै भए पनि आफ्ना नानी–बाबुहरुलाई बोर्डिङ स्कूलमा पढाउनुपर्ने बाध्यता उनीहरुसँग हुन्छ। समुदायमा केही यस्ता विद्यालय छन्, जसले बोर्डिङको भन्दा राम्रो शिक्षा र संस्कार दिइरहेका छन्।

सुर्खेतकै पुरानो मध्येको एक हो, वीरेन्द्रनगरको जन नमूना मावि। २००८ सालमा स्थापना भएको यो विद्यालय केही वर्षअघिसम्म ‘मर्जर’को अवस्थामा थियो। विद्यार्थी संख्या हरेक वर्ष घट्दै थियो। विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका छोराछोरी बोर्डिङ स्कूलमा अध्ययनत थिए। आफैले पढाउने विद्यालयको शैक्षिक गुणस्तरप्रति शिक्षक–कर्मचारीकै भरोसा थिएन्। यस्तोमा अभिभावकहरुले कहाँबाट आफ्ना छोराछोरी पठाउनु ?

सात वर्षअघि जन माविको नेतृत्व यामबहादुर श्रेष्ठले सम्हाले। उनलाई साथ दिन विद्यालय व्यवस्थापन समितिमा गोविन्द कोइराला आए। ‘विद्यालय सुधारको सुरुवात हामीले आफ्ना सन्तान भर्ना गरेर ग-यौं,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘त्यसपछि अभिभावकको भरोसा विद्यालयप्रति बढ्दै गयो।’ श्रेष्ठका छोरा रोहनमानले अघिल्लो शैक्षिक–शत्रमा जन माविबाटै ३.९० जिपिए ल्याएर एसईई उत्तीर्ण गरे। कान्छो छोरा रोहितमान कक्षा नौमा अध्ययनरत छन्। विद्यालयका प्रअ र अध्यक्षलेनै आफ्ना सन्तान भर्ना गरेपछि कार्यरत अन्य शिक्षक–कर्मचारीले पनि आफ्ना छोराछोरीलाई बोर्डिङ छुटाएर ल्याए। ‘शिक्षक–कर्मचारीका छोराछोरीनै भर्ना भएपछि गाउँगाउँ गएर विद्यार्थी खोज्नुपर्ने बाध्यता हट्यो,’ प्रअ श्रेष्ठले भने, ‘अहिले आफ्ना नानीबाबुहरु भर्ना गराउन अभिभावकले सोर्सफोर्स लगाउनुहुन्छ।’

तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र हालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संस्थागत विद्यालयको संख्या अधिक छ। यस्तोमा सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउनु चानचुने कुरा हुँदै होइन्। विद्यार्थी संख्या अपुग हुँदा २०६५ सालमा जन माविको दरबन्दी घटाइएको थियो।

विद्यालयले शिक्षाको गुणस्तर बृद्धिका लागि नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पढाउँछ। ‘वीरेन्द्रनगरको मुटुमै भएपनि एक दशकअघि यहाँ विद्यार्थी पाउन मुस्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले विद्यार्थीको चाँप खेपिनसक्नुको छ।’ जन माविमा भर्नाका लागि अहिले प्रवेश परीक्षा लिनुपर्छ। ‘हामीलाई धेरै विद्यार्थी देखाएर संख्या बढाउन होइन् सिकाई उपलब्धी, जीवनोपयोगी, अनुशासित र जिम्मेवार विद्यार्थी उत्पादन गर्नुछ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले भने, ‘त्यसैले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्ने गरेका छौं।’

जन माविलाई बन्द–हड्तालले प्रभाव पार्दैन्। शनिबारको दिन पनि सप्ताहन्त परीक्षा हुन्छ। प्रत्यक शुक्रवार विद्यार्थीकै आयोजनामा नेतृत्व विकास, जनचेतनामूलक र अतिरिक्त क्रियाकलाप सञ्चालन हुन्छन्। अतिरिक्त समयमा पढाउने र आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई सम्मान र पुरस्कारको व्यवस्था गरिएको छ। ‘सकभर शिक्षकहरु विदा लिएर बस्नुहुन्न, कुनै महत्वपूर्ण काममा विदामा बस्नुप¥यो भनेपनि कक्षा खाली हुँदैन्,’ उनले भने, ‘हामीले दुई जना अतिरिक्त शिक्षकको व्यवस्था गरेका छौं।’

शिक्षक र विद्यार्थीको आचरण र अनुशासनको पाटो हेर्नका लागि विद्यालयले निजीस्रोतबाट छुट्टै शिक्षकको दरवन्दी व्यवस्था गरेको छ। ‘सबै कुरा विद्यालय प्रशासनले हेर्न संभव हुँदैन्,’ उनले भने, ‘त्यहीँ भएर शिक्षक र विद्यार्थीको अनुशासनको पाटो हेर्ने गरेर दरवन्दी सिर्जना गरेका छौं।’

उच्च माध्यामिक, माध्यामिक र निम्न माध्यामिक तहमा गरेर २५ जना शिक्षक दरबन्दी छन्। आठ जना निजी स्रोतबाट विद्यालयले शिक्षक राखेको छ। ६५ जना बिहानी र १५ आंशिक शिक्षक दिवासत्रका लागि राखिएका छन्। कक्षा एकदेखि १२ र प्राविधिक विषयतर्फ गरेर २५ सय विद्यार्थी अध्ययनरत छन्। ‘समयानुकुल, अभिभावक र विद्यार्थीको रोजाई अनुसार हामीले कक्षा सञ्चालन गरेका छौं, नेपालीका साथै अंग्रेजी माध्यमबाट पनि पढाई हुन्छ,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘कुनैबेला विद्यार्थी नपाएर मर्जर हुने अवस्थामा रहेको जन मावि अहिले देशकै नमूना विद्यालय बनेको छ।’

प्रकाशित: ५ फाल्गुन २०७६ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App