१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

फिजियोथेरापी युनिटलाई पुनःस्थापना सहायक सामग्री प्रदान

अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले अस्पतालका डा. दिपेन लामालाई फाइल हस्तान्तरण गर्दै। तस्बिरः हिमनाथ/नागरिक

रसुवा – जिल्ला अस्पताल रसुवामा रहेको फिजियोथेरापी युनिटलाई सामग्री प्रदान गरिएको छ। विपद्को समयमा प्रभावितलाई वितरण गर्नका लागि पुनःस्थापनासम्बन्धी सहायक सामग्री प्रदान गरिएको हो। नेपालमा सहायक सामग्रीको उत्पादन कम हुने र विपद्को समयमा अभाव हुने भएकाले प्राप्त भएको सामग्री भण्डारण गरेर राखिने छ। विपद्को समयमा मात्र यसलाई प्रयोग गर्न सकिने बताइएको छ। अन्य समयमा आएका बिरामीका लागि आवश्यक सामग्री रहेकोले यसको प्रयोग विपद्को समयमा मात्रै गर्ने जनाइएको छ।

रसुवा अपांग पुनस्र्थापना केन्द्रले आइतबार एक कार्यक्रमको आयोजना गरी १६ प्रकारका ७५ वटा सामग्री उपलब्ध गराएको हो। यसको बजार मूल्य ९३ हजार रुपैयाँ रहेको बताइएको छ। ह्याण्डीक्याप इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा केन्द्रले अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेललाई र अध्यक्ष कुँइकेलले अस्पतालका डा. दिपेन लामालाई फाइल हस्तान्तरण गरेका थिए।

केन्द्रले दिएको सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको वेयर हाउसमा राखिने छ। केन्द्रका कार्यक्रम अधिकृत छिरिङ लामाले अस्पताललाई उपलब्ध गराएको सामग्री आपतकालीन अवस्थामा मात्र प्रयोग हुने बताए। ‘यो सामग्री निःशुल्क वितरण हुन्छ,’ उनले भने, युनिटमा बिरामीको जाँच गरेर आवश्यकताअनुसार उपलब्ध गरिन्छ।’ सुरुमा बिरामी जिल्ला अस्पतालमा जाने र आवश्यकताअनुसार युनिटमा पठाइने छ। युनिटमा पुगेपछि जाँच गरिने अस्पतालका डा. लामाले बताए।

बिरामीलाई सामग्रीको प्रयोग गर्न आवश्यक जानकारीसमेत दिइने उनले बताए। सामग्री बिग्रिएमा युनिटले मर्मत गरिदिने छ। अस्पताल विकास समितिका अध्यक्ष कुँइकेलले सेवालाई निरन्तरता दिन आग्रह गरे। बेलाबेलामा सेवा अवरुद्ध हुने गरेकाले समस्या सिर्जना भएको भन्दै उनले आगामी दिनमा यसलाई सच्चाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए।

भूकम्पपछि जिल्ला अस्पतालमा युनिट स्थापना गरेर फिजियोथेरापी सेवा सुरु गरिएको थियो। युनिटमा दुई जना कर्मचारी छन्। भूकम्पप्रभावित सातवटा जिल्लामा फिजियोथेरापी सेवा सञ्चालनमा छ। ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा रसुवासहित नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा र गोरखा जिल्लामा फिजियोथेरापी सञ्चालन भइरहेको छ।

केन्द्रले एचआइको सहयोगमा स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिलाहरू र बालबालिकाहरूको पहुँजमा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजना अन्तर्गत जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App