२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मन्दिरमा सुनको जलपसहितको छाना बनाउन ९१ लाख चन्दा

भक्तपुर – भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख रुपैयाँ चन्दा संकलन गरेर यहाँको एउटा मन्दिरमा सुनको जलपसहितको छाना निर्माण गरेका छन्। भक्तपुर नगरपालिका–९ तौलाछे सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरमा सुनको जलप लगाइएको छानो राखिएको हो। स्थानीयबाट सहयोग रकम संकलन गरेर यहाँ पहिलो पटक सुनको तलप भएको छाना राखिएको बताइएको छ।

वाकुपति चाँगुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका अध्यक्ष आशकाजी प्रजापतिले स्थानीयबाट ९१ लाख रुपैयाँ चन्दा संकलन गरेर मन्दिरमा सुनको जलपसहितको छाना राखिएको बताए। चन्दा सहयोग गर्नेले बढीमा न्युनतम पाँच सयदेखि लाख रुपैयाँसम्म उपब्ध गराएको उनले जनाए। सबैभन्दा बढी आशकाजी प्रजापतिले पाँच लाख चन्दा सहयोग गरेका अध्यक्ष प्रजापतिले जानकारी दिए। २०७४ बैशाख ८ गतेबाट सुरु भएको चन्दा संकलन काम अहिले सम्पन्न भएको बताइएको छ।

दुई तले वाकुपति चाँगुनारायण मन्दिरमा एक तलामा पहिले नै सुनको छाना रहेको थियो। अहिले तलामा सुनको जलपसहितको छाना निर्माण गरिएको उपभोक्ता समितिका सचिव रविन्द्र कुसीले जानकारी दिए। मन्दिरको पहिलो तला पश्चिममा तामाको छाना रहेको र अहिले त्यसमासमेत सुनको जलप लगाउने काम भएको उनको भनाइ छ। त्यही तलाको उत्तर, दक्षिण, पूर्वमा झिंगटी इटाको छानो हटाएर सुनको छाना जलपको छाना राखिएको हो।

सुनको जलपसहितको छाना निर्माण गर्नका लागि स्थानीयले उपभोक्ता समिति नै गठन गरेका थिए। उपभोक्ता समितिमा ६० वर्षभन्दा बढिका मात्रै व्यक्ति मात्रै रहेका छन्। वाकुपति चाँगुनारायण मन्दिर धानको थुप्रोमा भेटिएका देवता भएकोले वाकुपति चाँगुनारायण नाम रहेको संस्कृतविद् ओम धौभडेलले बताए। मन्दिरमा सुनको जलप भएको छाना राख्नका लागि भक्तपुरका स्थानीयले मात्रै नभएर बनेपा, बन्दिपुर, ललितपुरलगायतका ठाउँबाट पनि आर्थिक सहयोग गरेको बताइएको छ।

प्रकाशित: २९ माघ २०७६ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App