४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

औषधि र सेवा नहुँदा जाजरकोट अस्पतालमा आउनै छोडे बिरामी

बिरामी नआएपछि खाली रहेका अस्पतालका शैयाहरु । तस्बिर: जनक/नागरिक

जाजरकोट- अत्यावश्यक औषधि र सेवा नहुँदा ५० शैयाको जाजरकोट अस्पतालमा बिरामीहरु आउन छोडेका छन्। सरकारले चार वर्षअघि १५ सैयाबाट ५० शैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पतालमा औषधि र उपचार दुवै नपाइने भएपछि बिरामी आउनै छोडेका हुन्।  

अहिले ५० शैयाको अस्पतालमा ३० वटा मात्र शैयाहरु राखिएको र उक्त शैयाहरु पनि पुरै खाली रहेको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन्। यहाँ आएर के गर्नु न औषधि छ, न कुनै उपचार पाइन्छ, त्यसैले बिरामीहरु बाहिर जान्छन् एक स्वास्थ्यकर्मीले भने। यहाँ (जाजरकोट) अस्पतालमा आउनुको सट्टा बिरामीहरु रुकुमको चौरजहारी, नेपालगन्ज र काठमाडौंमा जाने गर्छन् उनले भने। निकै तामझामका साथ १५ शैयाबाट ५० शैया बनाइएको उक्त अस्पतालमा ५ शैया बराबरको पनि सुविधा र सेवा उपलब्ध गराउन नसकिएको एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भनिन्।

अस्पतालमा बिरामीहरु आउन छोडेपछि विभिन्न प्राविधिक शिक्षालयबाट प्रयोगात्मक अभ्यास ओजीटीका लागि आएका ४५ जना सिएमए, २३ जना ए.एन.एम. र ७ जना ल्याव टेक्निसियनहरु कामविहीन बनेका छन्।   कालीगण्डकी टेक्निकल कलेज बुटवलबाट जाजरकोट अस्पतालमा ए.एन.एम.को प्रयोगात्मक अभ्यासका लागि आएकी ममिता खत्री आफ्नो तीन महिनाको समय त्यसै बित्न लागेको गुनासो गर्छिन्। 'अस्पतालमा बिरामी नै आउदैनन् कसरी प्रयोगात्मक अभ्यास गर्नु?' उनले भनिन्। ममिता जस्तै सिद्धार्थ इन्स्टीच्युट अफ मेडिकल टेक्नोलोजी तानसेन पाल्पाबाट ओजीटीमा आएकी सुनीता खड्काले पनि आफू दुई महिनाअघि जाजरकोट अस्पतालमा आएको भएपनि डियुटी समय कामै गर्न नपाएर बित्ने गरेको बताइन्। उपचार पाइन्छ, औषधि छ भन्ने विश्वास नभएका कारण बिरामीहरु जाजरकोट अस्पतालमा आउन छोडेको उनको भनाई छ।

यस्तै सोहि अस्पतालमा कार्यरत एक मेडिकल अफिसरले अस्पतालमा सामान्य प्रेसर नाप्ने र के कस्तो छ भनेर हालखवर सोध्ने मात्रै काम गर्नु परेको बताए। औषधि, उपकरण र जनशक्ति अभावमा जनतालाई कुनै सेवा सुविधा दिन नसकेपछि आफूलाई लाज लाग्न थालेको उनले सुनाए। पहिले पहिले जाजरकोट अस्पतालमा बिरामीको ओइरो लाग्थ्यो तर ५० शैयाको भएपछि उपचार पाइदैन भनेर बिरामीहरु घट्दै गएको सरोकारवालाहरु बताउँछन्। २०४५ सालमा १५ शैयाको क्षमतासहित स्थापना भएको जाजरकोट अस्पताल २०७३ जेठ १० गते ५० सैयाको अस्पतालको रुपमा उद्घाटन भएको थियो।

हाल कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको मातहतमा रहेको अस्पतालको अवस्था दिनानुदिन बिग्रदै गएको स्थानीय सर्वसाधारणहरु बताउँछन्। सरकारी वेवास्ता र असक्षमताका कारण अस्पताल उपकरण, प्रयाप्त औषधि, विशेषज्ञ जनशक्ति र प्रभावकारी सेवाविहीन भएको छ। अहिले जाजरकोट अस्पताल अस्तव्यस्त मात्रै भएको छैन सर्वसाधारणले आधारभुत स्वास्थ्य सेवा समेत पाउन नसक्ने अवस्था सिर्जना भएको नागरिक अगुवा केशवजंग शाहले बताए। अस्पताल पुगेका बिरामीहरु भवन र साइनबोर्ड हेरेर फर्कनु पर्ने बाध्यता रहेको उनको भनाई छ।

अस्पतालमा रहेको फारमेसीमा लामो समयदेखि महत्वपूर्ण औषधिको अभाव रहेको, स्वास्थ्य बिमा गरेका सर्वसाधारणहरुले औषधि नपाएको, कुनै सामान्य अप्रेसन पनि हुन नसक्ने र सेवाको नाममा बिरामीको हालखवर सोध्ने मात्र गरिने गरिएको स्थानीयहरुको चर्काे गुनासो छ। ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा हाल ९ जना विशेषज्ञ डाक्टरसहित ४६ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि अस्पतालको सेवा अस्तब्यवस्त भएको हो।

अस्पतालको समस्यालाई सरोकारवाला निकायमा बारम्बार पुर्‍याए पनि कुनै सुनुवाई नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन्। उनले जनताको मर्का र अस्पतालको समस्याबारे मन्त्री, सांसद र सरकारी निकायहरुलाई बारम्बार अवगत गराउने गरेको तर सुनुवाई कतैबाट नहुँदा समस्या परेको बताइन्। अस्पतालको समस्या समाधानमा माथिल्लो निकायका व्यक्तिहरुले गम्भीरता नदेखाएको गुनासो समेत उनले गरिन्।

प्रकाशित: २८ माघ २०७६ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App