बाजुरा- तोली स्वास्थ्य चौकीको भवन निर्माणका लागि जमिन खरिद गर्न बडिमालिका त्रिवेणी धार्मिक महामहोत्सव आयोजना गरिएको छ। माघ २७ बाट औपचारिक कलश यात्रासहित महोत्सवको सुभारम्भ गरिएको मुल आयोजक समिति संयोजक मानबहादुर भण्डारीले बताएका छन्।
धार्मिक महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गरेका हुन्। ज्ञान विज्ञानका विषय र समाज विकास, मानव सत् चरित्र निर्माण तथा धार्मीक सत विषयका बारे महोत्सवमा प्रवचन तथा ज्ञान प्रदान गरिने भएको छ।
सबैको भलो र हित हुने कार्यमा लाग्नु नै धर्म भएको मन्त्री प्रकाश शाहले बताएका छन्। बाजुरामा जन्मिएका श्री संजेल जी महाराजबाट प्रवचन हुने धार्मिक महोत्सव आफैमा ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै मन्त्री शाहले बाजुरा अब कुनै क्षेत्रमा पछि नरहेको बताएका छन्।
बाजुराबाट धार्मिक क्षेत्रका महाराज पदावधि पाउने संजेल जी महाराज नै पहिलो धार्मिक गुरु हुन्। तोली स्वास्थ्य चौकी भवन निर्माणका लागि जमिन खरिद गर्न माघ सहयोगार्थ महोत्सव लगाइएको हो। महोत्सवले मानव शिक्षा र विकास, ज्ञान र विज्ञानको बारेमा बृहत ज्ञान प्रदान गर्न सकोस भन्ने शुभेच्छा दिँदै मन्त्री शाहले स्वास्थ्य मात्र नभई जिल्लाको सर्वाङ्गीण विकासमा आफ्नो योगदान रहने बचन दिएका छन्।
महोत्सव ८ दिनसम्म चल्ने छ। भवन निर्माणका लागि आवश्यक जमिन स्वास्थ्य चौकीसँग नभएको र मापदण्ड अनुसारको जमिन नहुँदा नयाँ भवन निर्माण गर्न राज्यले बजेट नदिने भएपछि जमिनका लागि महोत्सव लगाउन लागिएको इन्चार्ज समेत रहेका मुल आयोजक समिति महासचिव वीरबहादुर अयडीले बताएका छन्।
सामाजिक सेवा भाव भएका व्यक्तिहरुबाट दान वापतको रकम संकलनका लागि धार्मीक महायत्र आयोजना गरिएको मुल आयोजक समिति संयोजक मानबहादुर भण्डारीले बताएका छन्।
स्वास्थ्य चौकीसँगको सहकार्य, त्रिवेणी नगरपालिका ३, ४ र ५, महोत्सव मुल आयोजक समितिको आयोजना, सुसंस्कार समाज निर्माण अभियान नेपालसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको भजन गायक तथा महोत्सवका संकल्पकार शिशिर साधकले बताएका छन्।
स्थानीयलाई थप गुणस्तरीय सुविधासहितको स्वास्थ्य सेवाका लागि जमिन आवश्यक पर्ने हुँदा त्यसैका लागि महायज्ञ सञ्चालन गर्न लागिएको आयोजक समितिले जनाएको छ। १ हजार बढी शान्ति कलश काट्ने र करिब ५० लाख बढीको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ। आयोजकका अनुसार पहिलो दिन करिब १ लाख रुपैयाँ संकलन भएको छ।
विशुद्ध सेवासँग जोडिएको कार्य भएकोले सबैको सहकार्य र सहयोग रहने आयोजकले विश्वास लिएको छ। महोत्सव अवधिभर सालिग्राम भगवानको पूजा, विवाह ब्रतबन्ध, तुलादान, अन्न, जमिन दान, धनदान लगायतका कार्यक्रम राखिएको छ। महोत्सवमा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रकाशित: २८ माघ २०७६ ११:११ मंगलबार