८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चन्दा संकलन गरेर मन्दिरको छानामा 'सुनको जलप'

भक्तपुर - भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्। भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे सूर्यमढीस्थित श्री वाकुपति चागुनारायण मन्दिरमा सुनको जलप लगाइएको छानो राखिएको हो।

स्थानीयबाट सहयोग रकम संकलन गरी यो काम गरिएको हो। यसको लागि ९१ लख चन्दा संकलन भएको जनाइएको छ। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका अध्यक्ष आशकाजी प्रजापतिले स्थानीयसँंग चन्दा संकलन गरी मन्दिरमा सुनको जलपसहितको छाना राखिएको बताए।

चन्दा सहयोग गर्नेहरुमा बढीमा पाँंच लाख र घटीमा पाँंच सय रुपैयाँंसम्म रहेको जनाइएको छ। सबैैभन्दा बढी आशकाजी प्रजापतिले पाँच लाख सहयोग गरेका छन्। २०७४ बैशाख ८ गतेबाट सुरु भएको काम अहिले सम्पन्न भएको हो। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका सचिव रविन्द्र कुसीले दुई तल्ले वाकुपति चागुनारायण मन्दिरमा एक तल्ला पहिलैदेखि सुनको छाना रहेको बताए।

अहिले तल्लो एक तल्लामा सुनको जलपसहितको छाना लगाउने काम भएको कुसीले बताए्। मन्दिरको पहिलो तल्ला पश्चिममा तामाको छाना रहेको र अहिले त्यसमा सुनको जलप मात्र लगाउने उनले बताए। त्यही तल्लाको उत्तर, दक्षिण ,पूर्वमा झिंगटी इटाको छानो हटाएर सुनको छाना लगाएको जानकारी उनले दिए।

सुनको जलपसहितको छाना लगाउने कामका लागि यसअघि स्थानीय मिलेर उपभोक्ता समिति गठन गरेका थिए। यो उपभोक्ता समितिमा ६० वर्ष नाघेका व्यक्तिहरुको मात्रै रहेको बताइएको छ।

सस्कृतविद् ओम धौभडेलका अनुसार यो वाकुपति चागुनारायण मन्दिर खास चागुनारायण मन्दिर हो। धानको थुप्रोमा भेटिएको देउता भएकोले वाकुपति चागुनारायण नाम रहेको धौभडेल बताउँछन्। भक्तपुरको टोल टोलमा नारायणको मन्दिर छ तर प्रसिद्ध नारायण मन्दिरको रुपमा वाकुपति र तीलमाधव नारायण मन्दिर रहको उनी बताउँछन्। वाकुपति चागुनारायण मन्दिरमा माधवनारायणको १ महिने मेला लाग्ने गर्दछ।

श्री वाकुपति चागुनारायण मन्दिरको उपभोक्ता समितिको सदस्य कृष्णगोपाल प्रजापतिले आर्थिक सहयोग भक्तपुरबाट मात्रै नभई बनेपा, बन्दिपुर, ललितपुरबाट पनि आएको जनाए। आर्थिक सहयोग मात्र नभई सुन दान गरेर सहयोग गर्ने भक्तजनहरु रहेको उनले बताए।

प्रकाशित: २८ माघ २०७६ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App