७ वैशाख २०८१ शुक्रबार
समाज

बिओपीका दुई नयाँ भवन

बारा – सशस्त्र प्रहरी सीमा सुरक्षा बलअन्तर्गत बोर्डर आउट पोस्ट (बिओपी) का दुईवटा नयाँ भवन उद्घाटन गरिएको छ। पिपरपाती र कवही गोठमा निर्माण गरिएका सो भवनको बारामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। ९९ लाख ९९ हजार ९ सय ६ रुपैयाँको लागतमा नाति कन्स्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि ठेक्का पाएको थियो। ६२ किलोमिटरसम्म भारतसँग सिमाना जोडिएको बारामा उद्घाटन गरिएका बिओपीका नयाँ भवनले सीमा सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ।

उद्घाटन गरिएको बिओपीले सीमा अतिक्रमण रोक्नुका साथै सीमामा हुने आपराधिक गतिविधि र तस्करी रोक्न मद्दत पुग्ने विश्वास गरिएको प्रजिअ पोखरेलले बताएका छन्। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न, सीमास्तम्भको रेखदेख र अभिलेख गर्न, दशजगा क्षेत्रमा हुन सक्ने अवैध गतिविधिलाई नियन्त्रण गरी सीमा क्षेत्रमा बसोबास गर्न नेपाली जनताको शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहेको र त्यो जिम्मेवारीलाई पूरा गर्ने कार्यमा नयाँ उद्घाटित भवनले ठूलो मद्दत गर्ने सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए। भारतबाट नेपाल ल्याउने सामान पूर्णरूपमा निस्तेज गरेको बताउँदै सीमामा खट्ने सशस्त्र प्रहरीलाई सजग रहन डिआईजी अर्यालले निर्देशनसमेत दिए। नयाँ भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी, सुवर्ण गाउँपालिका प्रमुख महेन्द्र राय यादव, पचरौता नगरपालिका प्रमुख रमेश यादवलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २८ माघ २०७६ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App