१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

जीवितै छ ‘कम्युन’

बर्दिबास – महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्छिन्। बर्दिवास नगरपालिका–३ मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ। फरक जातिका उनीहरू संयुक्त परिवार झैं बसेका छन्। सर्लाहीबाट परिवारसहित आएकी बिनुका कार्की पनि सामूहिक अभ्यासमा अभ्यास्त छिन्। कक्षा ८ मा पढ्ने छिमेकी सोनिया कुशवाहलाई यहाँको वातावरणले छोएको छ। ‘आफ्नो घरमा एक्लोपन महसुस हुन्छ, यहाँ साथीभाइसँग भेटघाटदेखि हरेक क्रियाकलाप सामूहिक गर्न पाउँदा रमाइलो लाग्छ, धेरै समय यहीँ बिताउँछु’, कुशवाहले अनुभव सुनाइन्।

यहाँ हिमाल, पहाड र तराइका ब्राह्मण, क्षेत्री, मधेसी, थारु, तामाङ र महतोको सामूहिक बसोबास छ। समाजमा रहेको जातीय भेदभाव, आत्मकेन्द्रित चिन्तन र स्वार्थी राजनीतिका सामु यो एउटा नौलो उदाहरण हो। ‘सामूहिक अभ्यास र सबैमा समान’ अवधारणालाई व्यवहारमा प्रयोग गरेको आधारशिलामा १४ परिवारका ४५ जना छन्। खास अर्थमा भन्दा यो ‘कम्युन’ अभ्यास हो। निश्चित विचारसहित व्यक्तिवादबाट माथि उठ्दै समूहमा कार्य गरिन्छ भने त्यो कम्युनको सिद्धान्तमा पर्छ। उनीहरू यहाँ सामूहिकरूपमा बस्दै आएका छन् तर उठबस र बोलीमा त्यो खुसी झल्कँदैन, कताकता जीवन शैलीमा रित्तोपनाको आभास पाइन्छ।

कम्युनिज्म अर्थात् साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ। आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामूलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशिलाको मूल उद्देश्य हो। नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ। परिवारको व्यवस्थापन र सञ्चालन गर्न जागिरेहरूले निश्चित प्रतिशत दिनुपर्छ। एक परिवारले न्यूनतम पाँच हजार दिनुपर्ने व्यवस्था गरिएको छ। खाद्यान्नका लागि तीन बिघा भाडाको जग्गामा सामूहिक खेती छ। खेतीबाहेक अन्य गतिविधि प्रभावकारी हुन नसकेको देखिन्छ।

कार्ल मार्क्स र एङ्गेल्सको कम्युन अवधारणा सुरुमा सन् १८७१ मा पेरिसमा लागू भएको मानिन्छ। त्यसपछि सोभियत संघ र चीनमा पनि प्रयोग भयो। तत्कालीन नेकपा (माओवादी) ले रोल्पामा जनकम्युन चलाएको थियो। अन्यत्र अस्तित्व गुम्दै गए पनि १७ वर्षअघि सुरु भएको उक्त अभ्यास बर्दिवासमा जीवित छ। उनीहरूको एउटै भान्छा छ। हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ। आधारशिला परिवारका सदस्य शिव फुयाँल भन्छन्, ‘वर्तमान समयमा कामविशेषले विभिन्न स्थानमा बस्न सकिन्छ तर हाम्रो मूल घर भनेको यही हो, सामूहिक अभ्यासबाट हाम्र गतिविधि सञ्चालन हुन्छ।’

२०५१ मा नेकपा (एकता केन्द्र) फुटेर पुष्पकमल दाहाल नेतृत्वमा नेकपा (माओवादी) बन्यो। मोहनविक्रम सिंह नेतृत्वको केन्द्रले २०५४ मा महाधिवेशनस्तरको राष्ट्रिय सम्मेलनमार्फत ‘ग्रामीण वर्ग संघर्ष’ मा जुट्ने निर्णयसहितको राजनीतिक कार्यदिशा पारित ग¥यो। पूर्णकालीन राजनीतिक आन्दोलनमा लागेका नेता कार्यकर्ताका छोराछोरीको पालनपोषण र रेखदेखमा समस्या आएपछि उनीहरूलाई संरक्षण दिने उद्देश्यले ‘सामूहिक अभ्यास’को अवधारणा ल्याइएको हो। २०५९ माघ २५ गते नेकपा (एकता केन्द्र मसाल) ले ‘समाज रूपान्तरणका लागि सामूहिक अभ्यास’को निर्णयसहित सिरहाको तत्कालीन असनपुर गाविस–३ गोलबजारमा विश्वनाथ शाहका घरबाट २०६० मा होस्टेलका रूपमा कम्युन अवधारणा व्यवहारमा लागू ग¥यो। राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकार विघटन गरी शासन सत्ता हातमा लिएको छ दिनपछि अवलम्बन गर्न खोजिएकोे अवधारणा अगाडि बढाउन अर्काे चुनौती बन्यो।

पहिलो संविधानसभाका बेला एकता केन्द्र मसाल र नेकपा (माओवादी) बीच एकीकरणपछि समग्र जीवन सामूहिकतामा जानुपर्छ भन्ने निष्कर्षसहित २०६७ सालदेखि बर्दिवासमा १४ कट्ठा जमिन किनेर ‘आधारशिला’लाई व्यवस्थित गरिएको संस्थापक एवं हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बताउँछन्। तत्कालीन समयमा नेतृत्व गर्ने उनी अहिले पनि आधारशिलाका सक्रिय सदस्य हुन्।  ‘आधारशिला कम्युन’ मा खोटाङ, ओखलढुंगा, सिरहा, महोत्तरी, काठमाडौँ र मोरङबाट ६ परिवारका १८ बालबालिका सहभागी थिए। हाल १४ परिवारका ४५ जना सामूहिक अभ्यासमा छन्। मन्त्री पोखरेलसहित शाह, दीपबहादुर योञ्जन, विदुर कार्की, हरिनारायण चौधरी र माधवप्रसाद कोइराला कम्युनका संस्थापक हुन्। कार्की र शाह कारणवश छुट्टिएका छन्।

सदस्य फुयाँलले आधारशिलामार्फत व्यक्ति केही होइन, समाज मूल कुरा हो भन्ने सन्देशसहित कम्युनिस्ट विचार प्रयोग गर्न खोजिएको बताए। माक्र्सवादका ठूला उद्धरण वा महान् वाणी राख्ने मात्र नभई त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उक्त परिवारको जोड छ। समाजवादलाई आधार बनाएर समाजलाई अघि बढाउने कुरामा पार्टी र नेताको ध्यान नपुगेको उनीहरूको तर्क छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ क्रान्तिकारी आन्दोलनलाई प्रारम्भमै समाजवादी सांस्कृतिक आन्दोलनसँग जोड्दा मात्रै समाजवादी आन्दोलन अगाडि बढ्ने तत्कालीन अवस्थाको निष्कर्षको परिणाम आधारशिला भएको बताउँछन्। ‘आधारशिला व्यक्तिगत सम्पत्ति सामूहिकीकरण गर्न, जीवनलाई सामूहिक अभ्यासमा लैजान, वर्ग सङ्र्घषमा लाग्न, उत्पादनको काममा जोडिन र आफ्नो जीवनमा प्रगतिशील जीवनमूल्य अभ्यास गर्न स्थापना भएको हो, कसैलाई देखाउन र आडम्बर प्रदर्शन गर्न होइन’, श्रेष्ठले भने। कम्युनिस्ट पार्टी, पार्टीभित्रको पद र पार्टीमार्फत जननिर्वाचित संस्थालाई व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्ने क्रम बढेकामा उनले चिन्ता व्यक्त गरे।

कम्युनिस्ट मुलुक रुस विखण्डन भएपछि अन्तर्राष्ट्रियरूपमा समाज कसरी बनाउने भन्नेमा बहस उठ्यो। नेपालमा पनि क्रान्तिको कार्यदिशा के हो, पार्टीको निर्माणको कुरा के हो, समाजवादी आन्दोलन किन असफल भयो, प्रतिक्रान्तिको शिक्षा के हो भन्ने विषय महत्वपूर्ण बनेपछि नयाँ कार्यदिशाका साथ कम्युन अभ्यास थालिएको मन्त्री पोखरेल बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पराजयले आत्मगत पक्षलाई ध्यान दिनुपर्छ भन्ने देखायो। धार्मिक क्षेत्रमा सामूहिक काम गरिरहेका संस्थाले पनि कुनै न कुनै रूपमा सामूहिक अभ्यास गरिरहेका थिए। भारतमा अंग्रेजविरुद्धको आन्दोलनमा पनि एक खालको कम्युन देखिएको थियो। माक्र्सवाद दक्षिणबाट आयो तर त्यसमा पूर्वीय दर्शनका विषयलाई जोडेर सही ढंगले अगाडि बढेको देखिएन।रासस

प्रकाशित: २७ माघ २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App