१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुटु छुने तस्बिर

काठमाडौं - हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्बर मागे। नभेष काठमाडौंमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्छन्।

समाचार संस्थासँग कुरा गरेर उनले रौतहटका दुईवर्षीय बालक बजरंगीको फोटो कथा बनाउन थाले। यसबाट बालकको जीवनमा पनि केही सहयोग पु-याउने उनको आशा थियो। उनले बालकको घरसम्मको यात्रा तय गरे। पहिलो भेट भएको झन्डै तीन सातापछि घरमै पुगेर कथाका लागि विभिन्न कोणबाट तस्बिर खिचे।

प्रकृतिले अर्कै कथा रच्यो। उपचारका लागि सहयोग जुटाउने तयारी गर्दैगर्दा उपचार नपाएर बालकको २०७६ जेठ २६ गते मृत्यु भएको खबर नभेषले पाए। अनि उनी फेरि रौतहट पुगे। जीवन जोगाउन हिँडेका उनी चिहानको तस्बिर खिच्दै राजधानी फर्के।

‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो।तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’
नभेष चित्रकार, फोटो पत्रकार

बालकले नभेषको मन छोइसकेको थियो। ‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो,’ उनले भने, ‘तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’

बालकको मृत्युको खबर उनले रोयर्टसलाई पनि दिए। जीवित छँदा बालकलाई सहयोग पु-याउन नसकेपछि अब उनको मृत्युपछि फोटो कथा छाप्नुको औचित्य नरहेको उनीहरुको बुझाइ रह्यो। यही बीचमा पनि नभेष फूलकुमारीको परिवारसँग सम्पर्कमा थिए। परिवारमा अन्य दुई सदस्यको जिम्मेबारी पनि फूलकुमारीको काँधमा थियो। बालकलाई जोगाउन नसके पनि परिवारको दुःखमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचमा नभेष थिए।

यत्तिकैमा फोटो पत्रकारको संगठन पिजे क्लबको फोटो प्रतियोगिता सुरु भयो। उनले सोचे– यसमै यो बालकको कथा राख्नेछु। तस्बिरले केही जिते त्यही बालकको परिवारलाई दिने सोचका साथ उनी प्रतियोगितामा सामेल भए।

नभन्दै यही तस्बिरले नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि जित्यो। शुक्रबार राजधानीमा आयोजित विजेता घोषणा कार्यक्रममा फोटो पत्रकार नभेषको फोटो फोटो अफ दी इयर ०७६ घोषित भयो।

‘यो उनीहरुकै दुःखको कथा हो,’ विजयी घोषणा भएपछि नभेषले भने, ‘यो पुरस्कार तिनै परिवारलाई अर्पित गर्छु।’ फोटो अफ दी इयर र फोटो कथा दुवैबाट प्राप्त हुने एक लाख ३० हजार रुपैयाँ बजरंगीको परिवारलाई केही दिनमै हस्तान्तरण गर्ने नभेषले सुनाए।

पुरस्कार जितेलगत्तै उनले बजरंगीकी आमालाई फोन गरेर जानकारी पनि गराइसकेका छन्। साथै उनले आफू काम गर्ने संस्थालाई पनि यो जानकारी गराइसकेको सुनाए। नभेष उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भए। नेपाल स्माइल क्याटगोरीमा कुमारीको हँसिलो तस्बिर खिचेका उनले नेचर एन्ड वाइल्ड लाइफमा पातमा जमेको पानीमा डुबेको भ्यागुताको तस्बिरमार्फत पहिलो स्थान हासिल गरे। ‘जीवन हाँसो र रोदनको संगम हो,’ उनले भने, ‘एकै दिन हाँसिरहेकी कुमारी र अन्तिम बिदाइ गर्दै गरेका बजरंगी दुवैले पुरस्कार जितेका छन्।’

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षतामा रहेको निर्णायक मण्डलले ६ हजारभन्दा बढी फोटोबाट उत्कृष्ट फोटो छानेको हो। पिजे क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगामी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए। नभेषले खिचेको तस्बिर र उनको मन दुवै उत्कृष्ट रहेको उनले सुनाए। ‘नभेषले आफूले जितेको पुरस्कार बालकको परिवारलाई दिएर तारिफयोग्य काम गरेका छन्,’ उनले भने, ‘उनले आफूसँग सबै फोटो पत्रकारको शिर उँचो बनाएका छन्।’

प्रकाशित: २६ माघ २०७६ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App