४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुली आश्रममा प्रहरी, भेटिएनन् बम्जन (अपडेट)

रामबहादुर बम्जन । फाइल तस्बिर

सिन्धुली- 'लिटिल बुद्ध' नाममले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। यौन शोषणको आरोप लागेपछि जिल्ला प्रहरीसहितको टोली उनको आश्रममा शुक्रबार बिहान ५ बजेनै पुगेको भएपनि यो समाचार तयार पार्दासम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

निजगढ नगरपालिका १२ बारा स्थायी ठेगाना भएका आफूलाई तपस्वि बताउने रामबहादुर बम्जनलाई पक्राउ गरि अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतको आदेश अनुसार पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा पुग्दा बम्जन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरेस्थित बोधी श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गर्दा बम्जन फेला परेका छैनन्, उनले नागरिकसँग भनिन्, खोजी कार्य जारी छ। बम्जनविरुद्ध यौन हिंसाको जाहेरी परेको र उनलाई पक्राउ गर्न खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

बम्जनको आश्रमबाट बम्जनका मुख्य सहयोगी अनुयायी मानिने एक जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि छाडिने प्रहरी प्रमुख सिग्देलले बताइन्। आश्रमबाट लोप्चन गुरुमार्गगुरु भनेर चिनिने ज्ञानबहादुर बम्जनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। बम्जनलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि उनको आश्रममा उनलाई नभेटिएको प्रहरीले जनाएको छ।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका-७ स्थित सामुदायिक वनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए। जुन बेला सर्वसाधारणले हालको भन्दा सहज तरिकाले भेट्न सकिने गरेको स्थानीय बताउँछन्। तर सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेको बताइए पनि प्रहरी पुग्दा त्यहाँ बम्जनलाई भेट्न नसकेको प्रहरीले जनाएको छ। बम्जन आश्रममा सर्लाहीको प्रहरी टोलिसहित जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पुगेको छ।

बम्जनको विभिन्न जिल्लाको आश्रमबाट सञ्चलाल वाईवा, फुलमाया रुम्बा, कर्मा वाईवा लगायतका अनुयायीहरु बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुव्र्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले उनको खोजी सुरु गरेको हो। शुक्रबार बिहानैबाट आफूहरु सिन्धुली आश्रममा खोजतलासका लागि लागेको भएपनि बम्जन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिग्देलले बताइन्। बम्जन बस्ने भनिएको आश्रमका संम्भावित क्षेत्रमा हामीले खोजेका हौ, फेला परेका छैनन्, तर त्यहिभित्र कतै लुकेर बसेको हुनसक्ने अनुमान गरेका छौ, उनले भनिन्।

बोधी श्रवण धर्म संघका केद्रिय सदस्य छत्र घिसिङले आफ्नो गुरु(रामबहादुर बम्जन) सिन्धुली आश्रम छोडेर कतै अन्यन्त्र नगएको बताउँछन्। उनी भन्छन्, 'गुरु कहि जानु भएको छैन, आश्रमभित्र कतै हुनुहुन्छ, हामीले पनि चाहेर भेट्न सक्दैनौ, उहाँले भेट दिएको समयमा मात्रै हो।' उनले प्रहरीको अनुसन्धानमा सघाउन आफूहरु तयार रहेको बताए।

 

प्रकाशित: २४ माघ २०७६ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App