३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

रामेछापमा दुई वर्षमा स्वास्थ्य बिमा १४ प्रतिशत

रामेछाप- सरकारले नागरिकको स्वास्थ्य उपचार लाग्ने खर्च कम होस र उपचारको भार परिवारमा नपरोस भनेर ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबाट रामेछापमा लाभ लिनेको संख्या न्यून रहेको छ। जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको २ वर्षको अवधिमा करिब १४ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका छन्। धेरै नागरिक अझै पनि उक्त कार्यक्रम बाहिर नै छन्।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा कुल जनसंख्याको आधारमा बिमा गर्नेको संख्या न्यून रहेको छ। तर सुरुवाती वर्षभन्दा पछिल्ला दिनमा मान्छेहरुको केही आकर्षण भने बढ्न थालेको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय रामेछापका दर्ता अधिकारी केशबराज ओझाले बताए। उनले बिमा गरिसकेकाहरुले स्वास्थ्य उपचारमा लाभ पाएको कुरा अरुलाई भन्न थालेपछि सर्वसाधारणमा पछिल्ला दिनमा केही आकर्षण बढेको बताए। अझै थप चेतना बढाउन र उपयुक्त वातावरण बनाउन जरुरी रहेको ओझाको भनाई छ।

हामी कार्यालयका तर्फबाट लागि रहेका छाैं, सरकारकै कार्यक्रम भएकाले सबै जनप्रतिनिधि पनि जिम्मेवार भएर स्वास्थ्य बिमा गर्नुपर्छ भनेर केही अंश मात्र चासो राखिदिए स्वास्थ्य बिमाको प्रभाव बढ्ने र धेरैले स्वास्थ्य उपचारमा लाभ लिने उनको भनाई छ। नागरिकको बिमा प्रति विश्वास नै बढ्न नसेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले बताए। चेतना अभिवृद्धि गरेर सबै जनता समेट्ने गरी नगरपालिकाले समेत स्वास्थ्य बिमामा काउन्सेलिङ गर्ने गरिएको बस्नेतले बताए।

स्वास्थ्य बिमा गरे पनि सेवा पाउन झन्झटिलो हुने गरेको रामेछाप नगरपालिका ६ का लालबहादुर तमाङले बताए। उनले भने बिमा गरेर पनि उपचारमा पैसा नै खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ। कतिपय अवस्थामा निर्धारण गरिएका स्वास्थ्य संस्थामा भनिए अनुसारका सेवा सुविधा उपलब्ध नहुँदा केही समस्या परेको बिमा बोर्डका जिल्लास्थित कर्मचारीहरु बताउँछन्। स्वास्थ्य बिमा गरेकाहरुले आँखा उपचारमा समेत राम्रै लाभ लिने गरेको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका वरिष्ठ नेत्र सहायक बासुदेब अधिकारीले बताए। उनले आँखा उपचारमा आउनेमध्ये दैनिक ५ देखि १० जना स्वास्थ्य बिमा गरेका बिरामीहरु आउने गरेको आँखा केन्द्रले जनाएको छ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवालाई नागरिकको मौलिकको हकको रुपमा उल्लेख गरी धारा ५१ (ज) १५ मा स्वास्थ्य बिमा सुनिश्चित गर्दै नागरिक स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनि किटान गरिएको भएता पनि अझै सबै समेट्न सकेको देखिदैन। न्यून आए भएका विपन्न परिवार भन्दा मध्यमस्तर र केही टाठाबाठाहरुले मात्र लाभ लिइरहको अवस्था देखिएको छ। जिल्लाको भौगोलिक विकटताले पनि बिमा गरेकाहरुलाई तोकिएकै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिनुपर्ने बाध्यताले केही समस्या भएको बिमाका कर्मचारीहरुले बताउँदै आएका छन्।

जिल्लाको हालसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मन्थली नगरपालिकामा ८ हजार ८ सय ५७ र सबै भन्दा कम लिखु तामाकोशी गाउँपालिकामा १ हजार ८ सय ६९ जना स्वास्थ्य बिमामा समेटिएका छन्। जिल्लाको कुल करिब २ लाख जनसंख्यामध्ये २६ हजार ६ सय ५० जना मात्र सरकार स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका छन्। अन्य जिल्लाको तुलनामा भने रामेछापमा स्वास्थ्य बिमा गर्ने संख्या केही बढी रहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय रामेछापले जनाएको छ।

विपन्न नागरिकलाई निःशुल्क बिमा गराउने प्रावधान भएता पनि सरकारले वितरण गर्ने विपन्न परिवारको परिचय पत्र नहुँदा स्वास्थ्य बिमामा समस्या आउने गरेको कर्मचारीहरु बताउँछन्। हाल जिल्लाको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु(मन्थली, खिम्ति, गेलु), तामाकाशी अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रबाट स्वाथ्य बिमाको सेवा पाउने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २४ माघ २०७६ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App