१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

तीन ‘स’ अभियानमा समर्पित राष्ट्रिय भेला

काठमाडौं – समुदाय विकासको तीन आधारस्तम्भ सहकार्य, सहभागीता र सहअस्तित्वको अवधारणालाई अघि बढाउने उद्देश्यले काठमाडौंको फर्पिङमा सामुदायिक सिकाइ केन्द्रहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ। तीन दिने सो भेलाको बिहीबार उद्घाटन दक्षिणकाली नगरप्रमुख मोहन बस्नेतले गरेका थिए।

मुलुकभरका सामुदायिक सिकाइ केन्द्रमध्ये छानिएका अग्रगामी ८० वटा केन्द्रका एक सय ३० प्रतिनिधि सो भेलामा सहभागी छन्। नेपालमा हाल हरेक नगरपालिकाका प्रत्येक वडा तथा गाउँपालिकामा एउटा गरी दुई हजार एक सय ५१ वटा सामुदायिक सिकाइ केन्द्र स्थापित तथा क्रियाशील छन्।

अनौपचारिक शिक्षाका साक्षरता कक्षा, साक्षरोत्तर कक्षा, निरन्तर शिक्षा, महिला सिप तथा आय आर्जन, खुला शिक्षा, स्वास्थ्य, परम्परागत सिप तथा वन संरक्षणका क्षेत्रमा समुदायमा रहेको जनशक्ति परिचालित गर्न शिक्षा मन्त्रालयअन्तर्गत मानव स्रोत विकास केन्द्रमातहत देशैभर सामुदायिक सिकाइ केन्द्रहरू स्थापित छन्।

शिक्षाका लागि दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त शिखरापुर सामुदायिक केन्द्रको आतिथ्यएवम् दक्षिणकाली नगरपालिकाको सहकार्यमा भइरहेको सो भेलामा कोइन जापान तथा युनेस्कोका प्रतिनिधि पनि सहभागी छन्। श्यामबहादुर केसीको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन–सत्रमा सामुदायिक सिकाइविज्ञ बाबुराम पौडेलले पूर्ण साक्षर घोषित ५१ जिल्लामा त्यस्तो घोषणाका लागि सामुदायिक सिकाइ केन्द्रहरूको ५१ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गरेका थिए। उनले प्रभावकारी परिणाम प्राप्तिका लागि सबै बालबालिकालाई विद्यालयमा भर्नासम्बन्धी राष्ट्रिय अभियान सञ्चालनको जिम्मा सामुदायिक सिकाइ केन्द्रलाई दिन सरकारसँग आग्रह पनि गरेका थिए।

दिगो विकास लक्ष्य प्राप्तिका लागि मुख्य सहयोगी बन्ने विशेष योजनासहित सामुदायिक सिकाइ केन्द्रहरू विश्वव्यापी रूपमा परिचालित छन्।

त्यसैगरी, युनेस्को नेपालका उपमहानिर्देशक डाक्टर बाबुराम अधिकारीले प्रभावकारी कार्यान्वयका लागि अनौपचारिक शिक्षाका सम्पूर्ण पाटो सामुदायिक सिकाइ केन्द्रमार्फत परिचालन गर्ने राष्ट्रिय नीति बनाउन जनस्तरबाट दबाब दिनुपर्ने बताए। उनले सामुदायिक सिकाइ केन्द्रमार्फत आर्जित सिपलाई प्रमाणपत्रमा प्रतिबिम्बित गर्न सरकारी पहल आवश्यक रहेको पनि औंल्याएका थिए।

कार्यक्रममा दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, सामुदायिक सिकाइ केन्द्र राष्ट्रिय सञ्जालका अध्यक्ष दीपक विश्वकर्मा, सामुदायिक सिकाइविज्ञ ध्रुवराज रेग्मी, निर्वाचन सहयोग परियोजनाकी निकिला श्रेष्ठ, सहजकर्ता निरज श्रेष्ठलगायतले अनौपचारिक तथा निर्वाचन शिक्षाका क्षेत्रमा निर्वाह भएको विशिष्ट अनुभव तथा प्राप्त उपलब्धिको चर्चा गरेका थिए।

भेलाको दोस्रो दिन सहभागी प्रतिनिधिको अनुभव आदान–प्रदानका साथै सामुदायिक विकासमा युवाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरिने शिखरापुर सामुदायिक केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले बताए। केसीका अनुसार अग्रगामी ३० वटा सामुदायिक केन्द्रका महिला परिचालिकालाई सहभागी गराइने सो निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट दुई लेखिकालाई जापानस्थित सिकाइ केन्द्रहरूको अवलोकन–भ्रमणको विशेष अवसर उपलब्ध गराइनेछ।

कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तिका लागि मुख्य सहयोगी बन्ने विशेष योजनामा सामुदायिक पुस्तकालय, जेष्ठ नागरिक अनुभव केन्द्र आदिसँग सहकार्य गर्दै सामुदायिक सिकाइ केन्द्रहरू विश्वव्यापी रूपमा परिचालित रहेको चर्चा पनि गरिएको थियो।

कार्यक्रममा युनेस्को नेपालका निवर्तमान उपमहानिर्देशक बाबुराम पौडेललाई शिखरापुर सामुदायिक सिकाइ केन्द्र तथा दक्षिणकाली नगरपालिकाका तर्फबाट सार्वजनिक सम्मान गरिएको थियो। भेलाको अन्तिम दिन सामुदायिक सिकाइ केन्द्र राष्ट्रिय सञ्जाल अद्यावधिक गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: २४ माघ २०७६ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App