सुनकोसी (सिन्धुपाल्चोक)- आमाको उपचारको लागि आर्थिक सहयोग माग गर्दै सुनखानी गाउँका रामकुमार बुढाथोकी मंगलबार सुनकोसी गाउँपालिकाको कार्यालय आइपुगे । गाउँपालिका अध्यक्ष श्रमणकुमार जिसीसमक्ष निवेदन पेश गरे ।
जिसीले गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर तत्काल सहयोग उपलब्ध गराउने भन्दै तोक लगाइ दिए । उनकी आमा मानकुमारी लामो समयदेखि मुटु रोगको बिरामी छिन् । उपचार खर्च अभाव भएपछि रामकुमार गाउँपालिकाको शरणमा आएका हुन् । ‘पालिकाले बिरामीको उपचारमा आर्थिक सहयोग गर्दै आएको सुनेको थिएँ,’ उनले नागरिकसँग भने, ‘धेरथोर जति दिए पनि उपचारमा भरथेग हुन्थ्यो ।’ सहयोग गर्ने अध्यक्षको प्रतिवद्धताले ढाडस मिलेको उनले सुनाए ।
साविक थुम्पाखर, पाँग्रेटार, यमुनाडाँडा र सुनखानी गाविस मिलेर बनेको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई उपचारमा आर्थिक सहायता प्रदान गर्ने नीति लिएपछि स्थानीयले लाभ लिन थालेका छन् । पालिकाले ६ प्रकारका रोगका बिरामीलाई उपचारमा सघाउँदै आएको छ । मुटु, मिर्गौला, मेरुदण्ड, क्यान्सर, मष्तिस्कघात र दीर्घरोगका बिरामीलाई रोगको जटिलताका आधारमा आवश्यक रकम उपलब्ध गराउँदै आएको अध्यक्ष जिसीले बताए।
‘१० हजार रुपैयाँसम्म अध्यक्षको एकल तोकआदेशमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘त्योभन्दा बढी सहायता दिनुपर्दा कार्यपालिकाको बैठकबाट निर्णय गराउँछौँ ।’ बिरामीले दुई लाख रुपैयाँसम्म उपचार अनुदान सुविधा पाएको उनले जानकारी दिए । पालिकाले बिरामी उपचार अनुदानलाई व्यवस्थित र कानुनी मान्यता प्रदान गर्न औषधी, उपचार सहायता कार्यबिधी नै बनाएको छ ।
गत आर्थिक वर्षमा गाउँसभाबाट यो कार्यबिधी पारित भइ कार्यान्वयमा आएयता हालसम्म दुई सयभन्दा बढी बिरामीले उपचार खर्च पाएका छन् । औषधि, उपचार सहायतामा झण्डै २० लाख रुपैयाँ खर्च भइसकेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले बताए । उनका अनुसार सम्बन्धित बिरामीको निवेदन, चिकित्सकको रोग प्रमाणित सिफारिस पत्रका आधारमा उपचार अनुदान दिइने गरिएको छ । ‘केही बिरामीका निवेदन निर्णय हुनै बाँकी छ,’ बस्नेतले भने ।
स्तन क्यान्सर पीडित स्थानीय लक्ष्मी घतानीले गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपचार अनुदान पाएकी थिइन् । भारतमा हालै उपचार गराएर फर्केकी उनले अनुदानले ठूलो सहयोग पुर्याएको बताइन् । उपचारमा उनले झण्डै २० लाख रुपैयाँ खर्चेकी थिइन् । उनी कार्यपालिका सदस्य पनि हुन् । गाउँपालिकाले रोगको प्रकृति र जटिलताका आधारमा थोरै वा धेरै रकम सहयोग गर्दै आएको छ । ‘रकम थोरै भए पनि अभावमा पीडितले ठूलो राहत महसुस गरेका छन्,’ अध्यक्ष जिसीले भने, ‘उनीहरुले आफूहरुको साथमा स्थानीय सरकार रहेको अनुभव भएको सुनाउँने गरेका छन् ।’
प्रकाशित: २१ माघ २०७६ १३:३३ मंगलबार