९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अटोले आत्मनिर्भर

‘एक घर: एक महिला स्वरोजगार’ कार्यक्रम अन्र्तगत महिलाहरुलाई अटो रिक्सा हस्तान्तरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी।

सुर्खेत - काठमाडौंको एक सरकारी कार्यालयमा सवारी चालक रहेका श्रीमान सुरेश सिंहको एक्लो आम्दानीले चार जनाको परिवार पाल्न वीरेन्द्रनगरकी निर्मला सेडाईलाई मुस्किल हुन्थ्यो। परिवारका कोही सदस्य बिरामी हुँदा, चाँडपर्वका बेला मिठो मसिनो खान समूह÷सहकारीबाट ऋण निकाल्नुपर्ने बाध्यता निर्मलासँग थियो। अहिले समय फेरिएको छ। घर खर्च चलाउनकै लागि ऋण लिने निर्मला अहिले बचत गर्न थालेकी छन्।

‘हातमा सीप थिएन्, सलाई किन्नका लागि पनि श्रीमानको तलवको भर पर्नुपर्ने बाध्यता थियो,’ छ महिनाअघि वीरेन्द्रनगर नगरपालिकाबाट अटो रिक्साको तालिम लिएर अनुदानमा अटो पाएकी उनले भनिन्, ‘पहिले घर खर्च चलाउन ऋण लिन्थे, अहिले बचत गर्ने भएकी छु।’ निर्मला बिहान १० बजेदेखि पाँच बजेसम्म अटो रिक्सा चलाउँछिन्। ‘बिहान–बेलुका घरको काम गर्नुपर्छ, छोरीलाई स्कुल पठाएर अटो चलाउन जान्छु,’ उनले भनिन्, ‘बेलुका पाँच बजेसम्म अटो चलाउँदा सबै खर्च कटाएर दैनिक १५ सयको हाराहारीमा बचत गर्न सक्छु।’

वीरेन्द्रनगर–४ कि सृजना गुरुङका श्रीमान घर खर्च चलाउन कालापहाड (भारत)मा गएर मजदूरी गर्थे। श्रीमानको एक्लो कमाइले सृजनालाई घर खर्च चलाउन धौधौ हुन्थ्यो। ‘श्रीमानको एक्लो कमाईले कोठा भाडा तिर्न, छोराछोरी पढाउन र बिहान–बेलुकाको छाक टार्न सकस हुन्थ्यो,’ सृजनाले भनिन्, ‘मैले अटो रिक्सा चलाउन थालेपछि श्रीमानले विदेशयात्रा मात्रै रोकिएको छैन्, दैनिकी चलाउन पनि सहज भएको छ।’ सृजना विहान पाँच बजे घरबाट निस्कन्छिन्। १० बजे छोराछोरीलाई स्कुल पु¥याउन आउँछिन्। ‘दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भनिन्, ‘अव म मात्रै होइन्, श्रीमान पनि अटो चलाउने हुनु भएको छ।’

निर्मला र सृजनाजस्तै अहिले वीरेन्द्रनगर बजारमा झण्डै ३५ जना महिलाहरु अटो रिक्सा चलाउँछन्। ति मध्ये १३ जना महिलालाई वीरेन्द्रनगर नगरपालिकाले तालिम र अटो रिक्सा प्रदान गरेको छ। ‘चालू आर्थिक वर्षमा १३ जना महिलालाई तालिम दिएर एक–एक वटा अटो रिक्सा उपलब्ध गराएका छौं,’ मेयर देवकुमार सुवेदीले भने, ‘महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौं।’ नगरपालिकाले तालिम लिएका महिलाहरुलाई दुई लाख रुपैयाँ अनुदानमा अटो रिक्सा दिन्छ।

उपमेयर मोहनमाया ढकालले पहिलो चरणमा आठ जना र दोस्रो चरणमा पाँच जना महिलाहरुलाई तालिम दिएर अटो रिक्सा वितरण गरिएको बताइन्। नगरपालिकाले चालू आर्थिक वर्षमा सुरु गरेको ‘एक घर ः एक महिला स्वरोजगार’ कार्यक्रम अन्र्तगत अटो रिक्साका साथै अन्य आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उपमेयर ढकालले वीरेन्द्रनगर–१५ र १६ मा २६ जना महिलाई सिलाई–कटाई तालिम दिएर मेसिन वितरण गरिएको छ। ६० जना महिलाहरूले ढाकाको कपडा बुनाई तालिम लिएका छन्।

चालु आर्थिक वर्षमै थप ४० जना महिलाहरूलाई ढाका बुनाई तालिम दिइने उनले बताइन्। महिला स्वरोजगार कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। ‘चालू आर्थिक वर्षभित्र नगर क्षेत्रमा छ सय जना महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘आगामी दिन वर्षभित्र हरेक घरका महिला स्वरोजगार बनाउने गरेर काम गरिरहेका छौं।’

प्रकाशित: २१ माघ २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App