६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नियम विपरित शुल्क मागेको गुनासो

विराटनगर - विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले नियमविपरीत शुल्क माग गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउदै नोबेलले गैरकानुनी रुपमा लिन खोजेको शुल्क रोक्न माग गरेका हुन्।

नोबेल मेडिकल कलेजले गैरकानुनी रुपमा शुल्क माग गरेर आफूहरूलाई मानसिक दबाब सिर्जना गरेको अभिभावक हेमन्तकुमार शर्माले बताए। उनले भने, ‘नियमविपरीत शुल्क मागेर नोबेलले मानसिक दबाब दिइरहेको छ।’ ०७६/७७ मा नोबेल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि छनोट भएका अभिभावकले पहिलो किस्तावापत १४ लाख ७८ हजार ६ सय ७५ रुपैया तिरिसकेका छन्।

पहिलो अभिमुखीकरणमा सहभागी गराउन, छात्रावासको व्यवस्था गर्न र अन्य प्रयोजनका लागि भन्दै कलेजले सरकारसँग गरेको सम्झौता विपरीत गैरकानुनी रुपमा शुल्क माग गरेको अभिभावकले बताएका छन्। अभिभावकका अनुसार कलेजले खानाबाहेक छात्रावासका लागि पाँच वर्षको अग्रिम भुक्तानी र त्यसमा प्रतिवर्ष अस्वाभाविक वृद्धिवापत हुने रकमको ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ, प्रवेश फारम शुल्क ३ हजार कजेलले माग गरेको छ।

यस्तै इन्टर्नसिपवापत पहिलो वर्ष नै ४ लाख ४० हजार रुपैया लिन खोजेको उनीहरूले बताएका छन्। आन्तरिक सेमिस्टर परीक्षावापत प्रत्येक सेमिस्टरको ९५ हजारका दरले वार्षिक १० प्रतिशतका दरले वृद्धि हुदै जाने १३ सेमिस्टरको १७ लाख ३५ हजार २ सय ८९ रुपैया र विभिन्न शीर्षकमा पछि कलेजले नियमअनुसार शुल्क लिने व्यवस्था गरेको छ।

कानुनअनुसार कलेजको छात्रावासमा बस्न अनिवार्य नभए पनि कलेजले अनिवार्य गरेको अभिभावकको गुनासो छ। उनीहरूले छात्रावासमा बस्ने व्यवस्था अनिवार्य नगर्न, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कायम गराउन अभिभावकले प्रशासनसमक्ष माग गरेका छन्। सरकारले तोकेको शुल्कविपरीत रकम असुल्न खोजिए आन्दोलनमा उत्रन अभिभावक बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।

यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अभिभावकको मागबारे प्रशासनको ध्यानाकर्षण भएको बताए। उनले भने, प्रशासनले अभिभावकको मागबारे सम्बन्धित निकायलाई जानकारी गराउने छ।

प्रकाशित: २० माघ २०७६ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App