२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

संकटमा परम्परागत पेशा

रोल्पा - पछिल्लो समय रोल्पामा काठलाई कुँदेर भाँडा बनाउने पेशा संकटमा पर्दै गएको छ। काठलाई कुँदेर बनाइने ठेकीलगायतका दही, दूध, घ्यूँ राख्ने भाँडा बनाउने पेशा संकटमा परेको हो। पछिल्लो समय यहाँका केशर विकले यस्ता भाँडा बनाउँदै आएका छन्। उनले यो पेशाबाट गाउँमै सानोतिनो आम्दानी गरेको भए पनि जीवन चलाउन भने गाह्रो परेको बताए। त्यसो त आधुनिक तरिकाले भाँडा बनाउने प्रविधि प्रयोगमा ल्याउन नसक्दा काममा पनि ढिलाइ समेत हुने गरेको छ।

रोल्पाको सुनीलस्मृति गाउँपालिका वडा नम्वर ८ अरेशका केशर विक १० वर्षदेखि काठलाई कुँदेर भाँडा बनाउँदै आएका छन्। काठलाई कुँदेर भाँडा बनाउने उनको पुर्ख्यौंली पेशा हो भने यसैबाट घर परिवारको खर्च जुटाउँदै आएका छन्। पहिले गाउँ गाउँमा काठका भाँडा बनाउने गरिए पनि अहिले धेरै जसोले पेशा छोडी सकेका छन्। काठबाट केशवले दही, दूध, घ्यूँ राख्ने ठेकी बनाउँदै आएका छन्।

काठको भाँडामा दही, दूध र घ्यूँ राख्न र महि मोथ्ने प्रयोगका लागि राम्रो मानिन्छ। पहाडमा काठ प्रसस्त पाइने भएकाले भाँडा बनाउन समस्या भने छैन्। एक माना अट्ने बराबर ७ सय रुपैयाँको दरले भाँडा बिक्री हुँदै आएका छन्। ‘पहिले बजार तिर दूध, दही, घ्युँ राख्ने अन्य भाँडा नपाइने समयमा यसको माग बढी हुन्थ्यो।’ केशरले भने ‘पछिल्लो समयमा बजारमा आएका अन्य भाँडाले गर्दा यी काठका भाँडा पहिले जस्तो बिक्न छाडेका छन्।’

काठका भाँडा बनाउने पेशाले रोल्पाको पहिचान समेत बनाएको छ। रोल्पाको सिर्प, गुम्चाल, पाङ लगायतका ठाउँमा पनि काठका भाँडा बनाइन्छ। यहाँ निर्माण भएका काठका भाँडा दाङ, प्यूठान, बाग्लुङमा बिक्री हु“दै आएको छ। ‘ग्राहकसम्म प्रचार नपुगेकाले पनि हाम्रो ब्यबसाय फस्टाएको छैन। तल बजारबाट आउने प्लास्टिक र अन्य भाडाकुडाले हाम्रो पेशालाई संकटमा पार्न थालेको छ।’ केशर भन्छन् ‘आधुनिक प्रविधि भए सजिलो हुन्थ्यो। ब्यबसाय गतिलो बनाउन स्थानीय सरकारले कुनै सहयोग गरेको छैन। बाउबाजेले गरेको पेशा छोड्न सकिने रैनछ।’

प्रकाशित: १६ माघ २०७६ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App