हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए
–भूपि शेरचन
हरेक वर्ष माघ आउनासाथ सहिदको सम्झना हुन्छ। यही महिनामा २००७ सालको क्रान्तिका महान् सहिदको बलिदानको चर्चा हुन्छ। तत्कालीन राणा शासनविरुद्ध तथा प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेका महान् सहिदको सम्झना गर्दा पनि छाती गर्वले फुल्छ।
दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा चार सहिदको जस्तो बलिदान आधुनिक नेपालमा बिरलै देखिएको छ। वास्तवमा पछिल्ला दिनमा सहिदका विषयमा खेलाँची भएको छ। आफू र आफ्ना परिवारको कुनै पर्वाह नगरी देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिद हुन्।
अहिले मुलुकमा सहिदको संख्या हजारौं पु-याइएको छ। जनआन्दोलन, ‘जनयुद्ध’का छुट्टै सहिद बनाइएका छन्। शान्ति प्रक्रिया टुंगोमा पु¥याउन धेरैलाई सहिदका रूपमा राखिएको छ। राजनीतिक हिसाब मिलान गर्न निर्णय गरेर बनाइएका सहिदको आफ्नै योगदान छ। तर पछिल्ला दिनका सहिदबारे प्रश्न उठेका छन्।
पञ्चायती निरंकुश शासनविरुद्ध संघर्ष गरेका सहिदको पनि एउटा ठूलो पंक्ति छ। कैयन्लाई प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा सरिक भएकै आधारमा तत्कालीन सत्ताले हत्या गरेको थियो। त्यस आधारमा तिनलाई सहिद मान्नु एउटा पक्ष हो। तर त्यसबाहेक पनि धेरैलाई सहिद बनाउने निर्णय गरेर राज्यका तर्फबाट तिनका परिवारका सदस्यलाई आर्थिक र अन्य सहयोग दिइएको छ।
यसरी सहयोग दिनु हुँदैन भन्ने होइन। तर पछिल्ला दिनमा सवारी दुर्घटनामा परेर होस् वा अन्य विवादमा परेर ज्यान गुमाएका व्यक्ति, तिनलाई समेत ‘सहिद’ घोषणा गरेर परिवारलाई आर्थिक लाभ दिने गरिएको छ। कहिलेकाहीं कुनै घटना विशेषमा परेका व्यक्तिलाई राज्यले सहयोग गरे पनि सहिद नै नभनेको भए हुन्थ्यो।
यसले सहिदको वास्तविक योगदानको अवमूल्यन गरेको छ। सहिदप्रति श्रद्धाले झुक्ने शिरमा अनाहकको भारी थपेजस्तो भएको छ। हुन त सहिद भन्नु नै एउटा राजनीतिक निर्णय पनि हो। कसैका निम्ति आतंककारी कसैका निम्ति सहिद हुन्छन् भनिन्छ। तैपनि हामीकहाँ सहादतको एउटा गौरवशाली परम्परा छ। त्यसलाई छायामा पार्ने गरी सहिद घोषणा नगरेकै भए राम्रो हुन्थ्यो।
प्रकाशित: १४ माघ २०७६ ०४:४९ मंगलबार