५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काभ्रे खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो

धुलिखेल, कुप्सडाँडामा आयोजनाले बनाएको खानेपानी वितरण ट्यांकी। तस्बिर:नागरिक

बनेपा – एशियाली विकास बैंकको ऋणमा भइरहेको मझौला एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट हात झिकेको छ। एक्कासी बैंकले काम नगर्ने भन्दै हात झिकेपछि उक्त आयोजनाको अन्यौल सुरु भएको छ। काभ्रेका बनेपा, धुलीखेल र पनौती गरेर तीनवटै पुराना नगरपालिकाका ९३ हजार जनसंख्यालाई सन् २०२४ सम्म गुणस्तरीय खानेपानी खुवाउने उद्देश्यले काम सुरु भएको थियो।

२०७० जेठ महिनाबाट निर्माण सुरु भएको आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर ९ पटकसम्म म्याद थप्दासमेत पुरा नभएपछि एडिबीले हात झिकेको हो। एडिबीले हात झिकेपनि उक्त आयोजना पूरा हुनेमा कुनै शंका नरहेको आयोजनाले बताएको छ। ‘डिसेम्बर ३१ देखि बैंकले लोन क्लोजको काम गरिरहेको थियो,’ आयोजना समन्वय कार्यालयकी उप–आयोजना निर्देशक प्रतिज्ञा मानन्धरले भनिन्, ‘यो आयोजना नेपाल सरकारले सञ्चालन गरिरहेको र ठेकेदार पनि हामीले नै सम्झौता गरेकाले निर्माण कार्यमा कुनै समस्या हुने छैन।’

उक्त खानेपानी आयोजना निर्माणको जिम्मा चिनिया ठेकेदार कम्पनी निङ्बो निङ्सिङ् इन्टरनेशनल कम्पनीले लिएको छ। दुई वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार सम्झौता भएपनि ६ वर्षपूरा हुँदासमेत काम पूरा हुन सकेको छैन। नेपालमा कुनै कार्यालय नभएको चिनिया कम्पनीले प्रतिनिधिका रूपमा नक्सालका किरण वैद्यलाई तोकेको छ। उनैले निर्माण कार्यको काम गर्दै आएका छन्।

खानेपानी आयोजना सुरु हुँदा ६७ करोड ३३ लाख रुपैयाँ लागत रहेकोमा पटक–पटक पुनरावलोकन गरेर भ्याट बाहेक ९९ करोड ११ लाख रुपैयाँ लागत पु-याइएको छ। सुरुको लागतभन्दा अहिले ४७ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, निर्माण अवधि तीन गुणाभन्दा बढी समय लम्बिँदा कामको परिमाणसमेत बढेकाले सुपरीवेक्षण परामर्शदातालाई सुरुको सम्झौता ३ करोड ४३ लाखको दोब्बरभन्दा बढी अर्थात ७ करोड ३२ लाख रुपैयाँ आयोजनाले भुक्तानी दिनुपर्ने अवस्था सिर्जना भएको छ।

निर्माण कार्यको सुपरीवेक्षण बिल्डिङ डिजाइन अथोरिटी (बिडिए) प्रालि र सिम्याट कन्सल्ट्यान्ट प्रालिको जेभिले गरिरहेका छन्। अमेरिकी डलरको भाउमा लगातारको वृद्धि र मूल्यवृद्धि समायोजनले थप २० करोड रुपैयाँको बराबर आयोजनाको लागत बढ्ने भएको छ।

यसैवीच, आयोजनालाई सञ्चालन गर्दै आएको काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डको पछिल्लो बैठकले निर्माण कम्पनीको म्याद १०औं पटक अर्थात् २०२० मे २८ (२०७६ चैत १५) सम्म थप्ने निर्णय गरेको छ। आयोजनाले अहिलेसम्म ९६ प्रतिशत् काम सम्पन्न भएको बताएको छ। तर खानेपानी आयोजनाको मुहानदेखि प्रशोधन केन्द्रसम्मको एक सय २९ मिटर पाइप जडानको काम भएको छैन। ट्यांकी निर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण स्थलसम्म पु-याइएको छैन। त्यसैले अझैपनि तोकीएको समयमा पानी आउनेमा स्थानीयहरू विश्वस्त छैनन्।

मन्त्रालयको चासो
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा भइरहेको ढिलाइप्रति सहरी विकास मन्त्रालयले चासो दिएको छ। उक्त मन्त्रालयसमेत सम्हाल्दै आएका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आयोजनाको कामप्रति चासो दिएका हुन्। २ वर्षमा काम सक्ने गरेर सम्झौता भएको आयोजना ६ वर्षसम्म पनि नसकिँदा स्थानीयलाई समस्या भएकाले तत्काल काम सक्न उनले निर्देशन दिएका छन्। अब तोकीएको म्यादमा पनि काम नसकीए मन्त्रीपरिषद्बाट निर्णय गरेर उक्त निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने उनले चेतावनीसमेत दिएका छन्।

प्रकाशित: १४ माघ २०७६ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App