८ वैशाख २०८१ शनिबार
समाज

लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला

सिन्धुपाल्चोक – लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।

हेलम्बु गाउँपालिका–१ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङ्गेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौंका जापान लामा घोप्टेफेदी आसपासबाट गत माघ ३ गतेदेखि बेपत्ता थिए। स्थानीय गाउँपालिकाको उद्धारकर्ताको टोलीले घोप्टेफेदीबाट झन्डै दुई मिटर उत्तरतिर हिउँको थुप्रोमा पुरिएको अवस्थामा फेला पारेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाले जानकारी दिए। दुप्चेश्वर गाउँपालिकाले ती विद्यार्थीको खोजीमा माघ ६ गतेदेखि स्थानीय लालबहादुर तामाङ नेतृत्वमा उद्धारकर्ता खटाएको थियो। हेलिकोप्टरबाट खोजी सम्भव नभएपछि स्थलमार्गबाट उद्धारकर्ता खटाइएको थियो। सोही दिन हेलम्बुबाट हेलिकोप्टरबाट घ्याङफेदी पु-याइएका उद्धारकर्ताले फेला नपारेकाले उनीहरू फर्केका थिए। तर, गाउँपालिकाले भने उद्धारकर्ता परिचालन गरिरहेकै थियो।

हिँड्डाहिँड्दै उनीहरूलाई हिउँले पुरेको अवस्थामा पाइएको अध्यक्ष लामाले जानकारी दिए। हिउँ पन्छाउँदै अघि बढ्दा शव फेला परेकाे थियो। मृतक दुवै विद्यार्थी राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर उनीहरू हेलम्बु फर्कंदै थिए। गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरू पुस २९ गते हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। माघ १ गते गोसाईंकुण्ड गएका उनीहरू फर्केर घ्याङफेदीस्थित फेदी लजमा बास बसेका थिए।

वाङ्गेलले ३ गते बिहान ७ बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ बजेतिर उनीहरू घोप्टेफेदीबाट दक्षिणतर्फ तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए। शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको अध्यक्ष लामाले बताए। उनका अनुसार खराब मौसम र हिमपातका कारण शव उठाउन भने सकिएको छैन।

प्रकाशित: १४ माघ २०७६ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App