१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

करोडौंको खानेपानी आयोजना असुरक्षित

खोटाङ – हलेसी क्षेत्र (बृहत् पम्पिङ) खानेपानी आयोजना असुरक्षित बनेपछि मुख्य लाइनको रुट परिवर्तनको माग गर्न थालिएको छ। बाढीपहिरोले जोखिम बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीले रुट परिवर्तनको माग गरेको हो। दूधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने दुई मुख्य लाइन छन्। तीमध्ये भुम्जुडाँडातर्फको पाइपलाइनको रुट परिवर्तनको माग गरिएको हो।

दूधकोसीको पानी हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको लुलिमाबेंसीबाट वडा २ डिकुवाको भुम्जुडाँडामा निकाल्ने पाइपलाइन पहिरो गइरहने ठाउँ र सान्य खोलाबाट लगिएकाले वर्षाको समयमा असुरक्षित हुने देखिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष सुरेन्द्र राईले बताए। उक्त कमिटीले जिल्ला प्रशासन कार्यालय र संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङलाई ज्ञापनपत्र बुझाउँदै पहिरो र खोलालाई छलेर हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पाइपलाइनको काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।

वर्षाको समयमा सान्य दोभान क्षेत्रमा पहिरो जाँदा खानेपानी आयोजनाको पाइप टुट्नेफुट्ने जोखिम देखिएकाले विकल्प सोच्नुपर्ने अवस्था देखिएको नेकपाले जनाएको छ। यस्तै सान्य खोलैखोला खानेपानी आयोजनाको पाइप राख्दा वर्षाको भलबाढीले पाइप बगाउने खतरा देखिएको अध्यक्ष राईले बताए। आयोजनाकै लागि गाडिएको कतिपय विद्युत्का पोल पहिरोले ढालेको र ठेकेदारले त्यही पोल ठड््याएर तार टाँगेको स्थानीयको गुनासो छ। ‘पानीको विकराल समस्या भएका सयौं नागरिकलाई पिउने पानीको व्यवस्थाका लागि ९६ करोडको आयोजना सञ्चालन हुनु सुखद पक्ष हो,’ अध्यक्ष राईले भने, ‘तर आयोजनाको पाइपलाइन मालेमा खोलाभित्रबाट र त्यसभन्दा माथि पहिरो गइरहने क्षेत्रबाट गरिएको छ। असुरक्षित क्षेत्रबाट भइरहेको आयोजना दीर्घकालिन नहुने खतरा देखिएको छ।’

दूधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ–१ देखि ७ का कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम थालिएको छ।

मध्यपहाडी लोकमार्गको हलेसी–जयराम सडकखण्डको राँगाकाटेभन्दा तल्लो क्षेत्रका जमिन चर्किरहने र पहिरो गइरहने क्षेत्र भएकाले आयोजनालाई असर पुग्ने र करोडौं रकम बालुवामा पानी खन्याएसरह हुने देखिएको ज्ञापन–पत्रमा भनिएको छ। योजनालाई सहज रूपमा सम्पन्न गर्न र दीर्घकालीन बनाउन नेकपाले संघीय तथा प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति, हलेसी तुवाचुङ नगरपालिका, निर्माण कम्पनी, हलेसी खोटाङ (बृहत् पम्पिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायतलाई आग्रह गरेको छ।

दूधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ–१ देखि ७ का कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम थालिएको हो। भ्याटबाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा २०७६ पुस १७ सम्ममा सम्पन्न गर्नेगरी २०७४ असार २१ मा मेनलाइनको ठेक्का लिएको दिवा–महादेव खिम्ती जेभीले हाल सिपोलिन पाइप बिछ्याउने काम गरिरहेको छ। दिवा–महादेव खिम्तीले गत पुस १७ गते नै आफ्नो म्याद गुजारिसकेको छ।

म्याद नगुजार्न ठेकेदारलाई ध्यानाकर्षण
नेकपा नगर कमिटीले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको वितरण लाइनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई सम्झौता अवधिमा काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ। लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा पनि चरम ढिलासुस्ती देखिएको भन्दै नेकपाले बाँकी काममा विलम्ब नगर्न भनेको हो। काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ असार ३० सम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ असार ३१ मा सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले हालसम्म ४/५ प्रतिशत मात्र भौतिक प्रगति देखाउन सकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका इन्जिनियर माधवेन्द्र चौधरीले बताए। रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरण लाइनको काम ठेक्का लिएको हो।

यस्तै भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनले करिब १५ प्रतिशत भौतिक प्रगति देखाएको छ। लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा २०७७ असार ३० सम्म सक्नेगरी २०७५ असार ३१ गते कामको सम्झौता गरेको थियो। रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीका डाइरेक्टर शम्भु घिमिरे र लामा कन्ट्रक्सनका पीताम्बर बडूले केही प्रतिनिधिको भरमा आयोजनाको काम छाड्दा ढिलासुस्ती भएको नेकपाका नेता जीवन राई संगीनले बताए। प्रगति देखाउन नसकेपछि ठेकेदार कम्पनीले आफ्ना प्रतिनिधिलाई पटकपटक परिवर्तन गर्ने गरेको पाइएको छ। तोकिएको समयमा काम सम्पन्न नभए आमरण अनशन नै बस्नुपर्ने अवस्था आउने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

प्रकाशित: ९ माघ २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App