१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रधान सम्पादक लुइँटेललाई वियोगी पुरस्कार

काठमाडौं – नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई २०७६ सालको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सम्पादक समाज नेपालले वियोगीको १४ औं स्मृति दिवसको अवसर पारेर शनिबार नुवाकोटको सूर्यचौरमा आयोजित कार्यक्रममा प्रदान गरेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नगद २५ हजारसहित सम्मान प्रदान गरेका हुन्।

त्यस्तै, टेलिभिजन पत्रकारितामा विशेष योगदान पु-याएबापत सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई १५ हजार नगदसहित सम्मान गरिएको छ भने सम्पादक समाज सम्मानबाट वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, वरिष्ठ पत्रकार माधवकुमार रिमाल र जयप्रसाद दाहाल (मरणोपरान्त) की धर्मपत्नी सावित्री दाहाललाई समेत सम्मान गरिएको छ। कार्यक्रममा सहभागी नेताहरूले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनामा प्रेसको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन्। उनीहरूले प्रेसलाई संकुचित गर्ने गरी कुनै पनि कानुन ल्याउनु लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुहाउने विषय नभएको धारणा राखे।

कार्यक्रममा नेता खनालले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले संवैधानिक व्यवस्थाविपरीत कुनै पनि कानुन नल्याउने स्पष्ट पारे। अर्का नेता अमृत बोहोराले पनि प्रेस स्वतन्त्रतालाई कसैले कुण्ठित गर्न नसक्ने धारणा राखे। नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले भने सरकारले लोकतान्त्रिक मूल्यमान्यताविपरीत गएर एकपछि अर्को गर्दै विधेयक ल्याएको आरोप लगाए। अमेरिकामा पनि राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा लेख्न पाइने व्यवस्था भएको भन्दै केसीले भने, ‘लोकतन्त्र स्थापना गर्न पत्रकार र पत्रकारिताले पु-याएको योगदानलाई भुलेर सरकार यसलाई खुम्च्याउन लागि परेको छ। जुन हामीलाई मान्य छैन।’

मुलुकले बलियो नेता नभएर बलियो प्रणाली खोजेको धारणा राख्दै कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले नेपालमा भने उल्टो भइरहेको गुनासो गरे। समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले स्व. गोविन्द वियोगीको १४ औं पुण्य तिथिका अवसरमा गोविन्द वियोगी मार्ग सूर्यचौरमा पुरस्कार तथा सम्मान हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ माघ २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App