गोरखा- कक्षामा सुगा रटाई जस्तो पढाएर अहिलेको ‘टेक्नोलोजी’ र ‘साईन्स’को युगमा त्यो प्रभावकारी नहुने पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन्। बिहिवार गोरखाको भिमसेन थापा गाउँपालिका १ को स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उनले भने ‘नयाँ युग अनुसारको बालवालिकालाई शिक्षा दिन सक्नुपर्छ, त्यो पहिले घर, विद्यालय र समाजबाट बालबालिकाले सिक्नेछन्।’
पूर्व राष्ट्रपति यादवले शिक्षा क्षेत्रलाई विषेश जोड दिएर अगाडि बढाउनुपर्ने बताए। ‘प्रतिकुल मौसमबीच दुल्लभ माविको स्वर्ण जयन्ती सँगै उत्साह थप्न आएको हुँ’ उनले भने। गुणस्तरिय शिक्षा र गुणस्तरिय विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिनुपर्ने उनले बताए। भोलीका सन्ततीलाई कस्तो बनाउने, देश कसरी बनाउने भन्ने निर्धारण शिक्षाले गर्ने बताउँदै उनले भने ‘शिक्षामा आएका विद्यार्थी काँचो माटो हो, उनीहरुलाई कसरी राम्रो बनाउनुहुन्छ भन्ने सबैभन्दा धेरै हात शिक्षकको हुन्छ।’
गोरखाको भिसमेन थापा गाउँपालिका १ दुल्लभ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। चार दिनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएको स्वर्ण जयन्ती समारोहको एक कार्यक्रमकाबिच बिहिवार पूर्व राष्ट्रपति रामबरण यादबले उद्घाटन गरेका हुन्।
प्रकाशित: २ माघ २०७६ १२:५५ बिहीबार