२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं महानगरद्धारा १३० पसलमा अनुगमन: २२ वटामा म्याद गुज्रिएका सामान भेटिए

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले असोज १० गतेदेखि २० गतेसम्म १० दिनको अवधिमा १३० वटा पसलहरूको अनुगमन सम्पन्न गरेको छ।

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगाल लगायतका विभिन्न स्थानमा गरिएको अनुगमनमा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादनहरू फेला परेका छन्।

महानगरका अनुसार अनुगमनका क्रममा ८२ वटा पसलमा स्पष्ट रूपमा मूल्य सूची राखिएको थिएन। ती पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। त्यस्तै, ६२ वटा पसलहरू व्यवसाय दर्ता नगरेको पाइएको छ। ती पसलहरुलाई ७ दिनभित्र दर्ता गराउन समय दिइएको छ।

चाडपर्वको समयमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको प्रयोग बढी हुने भएकाले ठगी तथा गुणस्तरसम्बन्धी समस्या देखिन सक्ने खतरा हुन्छ। अनुगमनको क्रममा मूल्य सूची नराख्ने, खरिद बिक्री बिलको अभाव, म्याद गुज्रिएका उत्पादनहरू राख्ने स्थानको व्यवस्था नगर्ने, र व्यवसाय दर्ता नगर्ने जस्ता समस्या प्रायः भेटिएका हुन्छन्।

विशेष गरी प्याकेजिङ गरिएका जुस, बिस्कुट, चकलेट, अचार, मसला, भिनेगर, केचअप, जाम जस्ता खाद्य तथा पेय पदार्थहरूको म्याद सकिएको अवस्थामा फेला परेको छ। यी समस्याहरूलाई समाधान गर्न विक्रीमा रहेका सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, र अधिकतम मूल्यलाई ध्यान दिइन्छ।

पसलहरूमा म्याद गुज्रिएका सामानहरूको व्यवस्थापन, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिलको प्रयोग, व्यवसाय दर्ता र नविकरणजस्ता सूचकहरूलाई आधार मानेर अनुगमन गरिन्छ। यस अनुगमनको उद्देश्य अनुचित व्यापारिक क्रियाकलापलाई रोक्न र स्वच्छ बजार सुनिश्चित गर्न तथा सचेतना अभिवृद्धि गर्ने रहेको महनगरले जनाएको छ।

फुड टेक्नोलोजिष्ट र माइक्रोबायोलोजिष्टहरूको नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीहरूले दैनिक रूपमा बजार अनुगमन गरिरहेका छन्। उपभोक्ताका ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ नामक प्रमुख चार अधिकारको प्रत्याभूति गराउन महानगरपालिकाले निरन्तर रूपमा काम गरिरहेको छ।

प्रकाशित: २१ आश्विन २०८१ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App