१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

प्रहरी हिरासतमा रहेका रामबाबु राय यादव । (तस्बिर : रामबाबु राय यादवको फेसबुकबाट)

सर्लाही- सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

मंगलबारबाट लागू हुने गरी जिल्ला अदालतबाट ठगी मुद्दा अन्तर्गत अनुसन्धान गर्न पाँच दिनको म्याद लिइएको सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए। ‘यादवविरुद्ध तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएका थियौं’, प्रउ पोखरेलले मंगलबार नागरिकँग भने, ‘यसबीच यादवविरुद्ध निकै प्रमाणहरु जुटाइसकेका छौं, त्यसैले आजबाट जिल्ला अदालतबाटै म्याद लिएर ठगी मुद्दामा अनुसन्धान सुरु गरेका छौं।’

प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सितापुरस्थित घरमा सोमबार मध्यान्ह सुरक्षाकर्मीको टोलीले छापा मारेको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी गरिएको प्रहरीले जनाएको छ। ‘अभियुक्त यादवविरुद्धको आरोपसँग सम्बन्धित कागजात संकलनका लागि खानतलासी गरेका हौं’, प्रउ पोखरेलले भने, ‘खानतलासीबाट अनुसन्धानमा आवश्यक पर्ने प्रमाणजन्य कागजातहरु नियन्त्रणमा लिएका छौं।’ प्रहरी टोलीले झण्डै दुई घण्टा यादवको घरमा खानतलासी गरेर ऋण लगानी गरेको तमसुक, चेकबुक लगायत विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजिनामा गरिदिएको जग्गा आफूखुसी बिक्री गरेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको लगायत गुनासो बोकेर सर्लाहीबाट एक समूह काठमाडौं गएर गृहमन्त्री रामबहादुर थापा 'बादल' एवं प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीलाई भेटेपछि यादवलाई गृह मन्त्रालयको ठाडो निर्देशनमा सर्लाही प्रहरीले पक्राउ गरेको हो।

पीडितहरुको समूहले सर्लाही कै ब्रम्हपुरी निवासी संजय गुप्ता रौंनियारविरुद्ध समेत सोही प्रकारको पीडा दिएको गुनासो गरेका थिए। तर रौंनियार भने भारततर्फ भाग्न सफल भएको सर्लाही प्रहरीले जनाएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य रहेका यादव स्थानीय तह निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा प्रमुखको प्रत्यासी थिए। त्यस्तै रौंनियार पनि प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. २ मा तत्कालिन नयाशक्ति पार्टीबाट संघीय सांसद्का प्रत्यासी थिए।

यता राजपा नेपालले भने यादवलाई राजनैतिक पूर्वाग्रह राखेर कम्युनिष्ट सरकारले फसाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएको छ। शिक्षासेवी एवं असल राजनैतिक नेता भएको र यादवको सामाजिक चरित्र हत्या गरिएको दावी गर्दै आएको छ। गत बिहीबार सदरमुकाम मलंगवामा तथा आइतबार बरहथवामा विरोध प्रदर्शनसहित यादवलाई अबिलम्ब रिहाईको माग गर्दै राजपाले स्थानीय प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको थियो।

यादव पक्षको जुलुस सकिएलगत्तै आइतबार नै ऋण पीडितहरुको एक समूहले समेत बरहथवा बजारमा विरोध प्रदर्शन गरेको थियो। उनीहरुले ऋण दिने नाममा यादव र रौंनियारले आफूहरुको बिल्लीबाठ बनाएको गुनासो गरे।

मिटररब्याजीको आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार केही महिनाअघि मात्रै पक्राउ परेका थिए। ठगी मुद्दा अन्तर्गत अदालतको आदेश अनुसार उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

 

प्रकाशित: २९ पुस २०७६ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App