७ वैशाख २०८१ शुक्रबार
समाज

बेत्रावतीमा ११ हल गोरु जुधाइने

रसुवा- रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा बुधबार ११ हल गोरु जुधाइने भएको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ मेला सञ्चालन गर्दै आएकोमा यो वर्ष पनि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। 

नाम दर्ताको अन्तिम दिनसम्म ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। गोरु जुधाइ मेलाको व्यवस्थापनको कार्य सकिएको स्थानीय गणेश श्रेष्ठले बताए। नेपाल र तिब्बत बीच १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रर्बद्घन गर्न सहयोग पुग्ने गरेको छ।

विगतमा परम्परामा मात्र सीमित रहेको यो मेला २२ वर्ष यता स्थानीयले बलिया गोरु प्रतियोगिता गराई खुसियाली साटने थलोको रूपमा विकास समेत भईसकेको छ। गोरु जुधाई हेर्न रसुवा सहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरलगायतका जिल्लाका हजारौं मानिसहरु जाने गरेका छन्।

                कृषिमा आधुनिकीकरण हुँदै जाँदा हाते ट्याक्टरको प्रयोग बढ्दा गाउँघरमा गोरु पाल्ने चलन हराँउदै जान थालेपछि प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको क्लवले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि सवारी पार्किङ मुख्य समस्याको रुपमा आउने गरेको छ।

                सडकमा सवारी पार्किङ गर्ने ठाउँको अभावमा जग्गाधनीलाई आग्रह गरेर खेतमा लगेर पार्किङ गर्नुपर्ने अवस्था आउने गरेको छ। २०५३ सालअघिसम्म गोरु जुधाई समिति गठन गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको भएपनि २०५३ सालदेखि क्लबले गोरु जुधाई आयोजना गर्दै आएको छ।

माघे संक्रान्तीको अवसरमा सार्वजनिक विदा

रसुवाको उत्तरगया गाउँपालिकाले माघे संक्रान्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाभित्र गोरु जुधाई कार्यक्रम तथा माघे संक्रान्ती पर्व मनाइने भएकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

                हरेक वर्ष माघे संक्रान्तीको अवसरमा यस क्षेत्रमा गोरु जुधाई आयोजना हुँदै आएको छ। यो वर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाउने भएकाले सार्वजनिक विदा दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर खत्रीले जानकारी दिए।

               

 

 

प्रकाशित: २९ पुस २०७६ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App