१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' प्रधान सम्पादक लुईंटेललाई

काठमाडौं - याे वर्षकाे 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेललाई प्रदान गरिने भएको छ। सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सो निर्णय गरेको जानकारी दिएका हुन्।

यसैगरि 'गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार' सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ। समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्व. गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएका दुवै पुरस्कारको राशी क्रमशः २५ हजार एक रुपैयाँ र १५ हजार एक रुपैयाँ रहेको छ।
 
यस्तै, सम्पादक समाज सम्मानबाट वरिष्ट पत्रकार तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, वरिष्ट पत्रकार माधवकुमार रिमाल र जयप्रसाद दाहाल (मरणोपरान्त)लाई समेत सम्मानित गरिने भएको छ।

समाजका कार्यसमिति सदस्य परशु घिमिरे संयोजक तथा कार्यसमिति सदस्य हरि लम्साल र माधव दुलाल सदस्य रहेको पुरस्कार सिफारिस उपसमितिले प्रस्ताव गरेका नामहरुलाई समाजको २०७६ पुस २७ गते बसेको कार्यसमितिको बैठकले अनुमोदन गरेको हो।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले स्व. गोविन्द वियोगीको १४ औं पुण्यतिथिका अवसरमा २०७६ साल माघ ४ गते शनिबारका दिन गोविन्द वियोगी मार्ग, सूर्यचौर, शिवपुरी गाउँपालिका—७ मा समाजले निर्माण गरिराखेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजना गरिने कार्यक्रममा पुरस्कार एवं सम्मान हस्तान्तरण गर्ने समेत समाजले निर्णय गरेको छ। 

प्रकाशित: २८ पुस २०७६ १०:२४ सोमबार

गोविन्द_वियोगी_पत्रकारिता_पुरस्कार प्रधान_सम्पादक