१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

फागुनमा राष्ट्रपति भन्डारी मौलापुर आउने

रौतहट- आगामी फागुनमा रौतहटको मौलापुरमा विभिन्न कार्यक्रममा राष्ट्रपति विद्यादेवी भन्डारी सहभागी हुने भएपछि तयारी सुरु गरिएको छ। मौलापुरको पतौरामा रहेको कर्णाटकालीन भूतनाथ महादेव मन्दिरको शिलान्यास, एकीकृत नमूना दलित बस्ती मौलापुर र पिकनिक स्थल मौलापुरको उदघाटन राष्ट्रपति भन्डारीबाट हुने तय भएपछि तयारीको थालनी गरिएको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले जानकारी गराएकी छन्।

पत्रकार सम्मेलन गरी मेयर साहले मौलापुर नगरपालिकाले मधानी महोत्सव गर्ने र त्यस क्रममा अन्य विभिन्न कार्यक्रमहरु गर्ने जानकारी गराएकी छन्। मधानी महोत्सवसँगै भोजपुरीको विशिष्ट कलाकार  दिनेशलाल यादव निरहुआ, आम्रपाली दुबेसहितको सांस्कृतिक कार्यक्रम समेत राखिएको र कार्यक्रमलाई विभिन्न किसिमले थप आकर्षक बनाउन खोजिएको जानकारी दिएकी छन्।

पुरातत्वविदहरुको पहिलो रिपोर्ट अनुसार मौलापुरको पतौरामा रहेको भूतनाथ महादेवको मन्दिर कर्णाटकालीन रहेको देखिएको र केही दिनमा विस्तृत विवरण आएपछि वास्तविकता जानकारी हुने बताएकी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार तथा संस्कृतिविद् सञ्जय मित्रले पतौराको महादेव मन्दिर कर्णाटकालीन समयभन्दा पनि पुरानो हुनुपर्ने बताएका छन्। पहिले सर्वसाधारणले काँचो माटोकै देवता बनाएर पूजा गर्ने गरेको सन्दर्भ कोट्याउँदै संस्कृतिविद मित्रले महादेवको स्थापना भएको धेरै पनि मात्र कुनै स्थायी संरचनाको निर्माण गरिएको हुन सक्ने भएकाले यहाँको इँटा र संरचनालाई मात्र हेरेर मन्दिर स्थापनाको समय किटान गर्न नहुने तर्क गरेका छन्।

यसैबीच मौलापुरमा सञ्चालित असहायसित मेयर कार्यक्रमका लागि २७ जनालाई जनही २५ हजार रुपैयाँको दरले चेक पनि प्रदान गरेकी छन्। नगरपालिकाके असहाय तथा अति विपन्न परिवारको सदस्यलाई विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ। अति विपन्न परिवारमा छोरीको बिहे हुँदा पच्चीस हजार रुपैयाँ नगरपालिकाको तर्फबाट सहयोग हुँदै आएको छ। प्रदेशको एकमात्र महिला मेयर रहेको मौलापुरमा महिलामैत्री विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन्।

यस्तै, आगामी फागुनको पहिलो हप्ता मौलापुरमा राष्ट्रपति विद्यादेवी भन्डारीको आगमन हुने भएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको सुरक्षा प्रमुखहरुको टोलीले मौलापुरको स्थलगत निरीक्षण गरेको छ। राष्ट्रपतिको सवारी हुने भएपछि मौलापुरमा रहेको भूतनाथ महादेवस्थलको सुरक्षाको दृष्टिले स्थलगत अनुगमन गरिएको प्रजिअ थापाले जानकारी गराएका छन्।

प्रकाशित: २५ पुस २०७६ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App