काठमाडौँ – विदेशबाट बहुमूल्य सामान पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशी नागरिकसँगै पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो भाइवर लगायतबाट विदेशी नागरिकका नाममा आइडी खोलेर ठगी धन्दा चलाउने पाँचजनालाई काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा नाइजेरियन नागरिक ४० वर्षका सिरील चिन्सो इबिच र आइबेरीकोष्टका २३ वर्षीय एसेप अडजी रहेका छन्। सिरील चिन्सो इबिच यो गिरोहका नाइके रहेको प्रहरीले बताएको छ। त्यस्तै चितवनका ४० वर्षीय रामचन्द्र गैरे, काठमाडौँ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालिकानगरका ३१ वर्षीय हरि ओझा पक्राउ परेका प्रहरीले जनाएको छ।
उनीहरुले विदेशी नागरिकका नक्कली आइडी बनाई नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाई विभिन्न बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनि इमेलमा विभिन्न बहुमूल्य गरगहना, सामानहरु र डलरसहितको फोटो पठाई झुठो प्रलोभनमा पारि सो पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेको र त्यसपछि नेपालमा भएको सम्पर्क नम्बर ९८०३८०४८५८ बाट विदेशी नागरिकले फोन गरि तपाईँको सामान मैले लिएर आएको थिए र विमानस्थलमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी पीडित भएका व्यक्तिहरुको सम्बन्धमा बुझ्ने लगायतका आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २५ पुस २०७६ ०७:५६ शुक्रबार