२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

२० वटा झोलुङ्गे पुल एक महिनाभित्र सञ्चालनमा ल्याइने

बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिन भित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई  तीव्र बनाएको छ।

ती पुलका फलामे लठ्ठाहरू सुरक्षित रहेतापनि मानिस हिँड्ने भाग (डेक) भने बाढीले बगाएको थियो।

नयाँ डेक खरिदका लागि यही भदौ २२ गते नै विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइसकेको छ।

सम्झौताअनुरूप ती कम्पनीहरूले आगामी १० दिनभित्र डेक उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नेछन्।

हाल सरकारले पूर्वाधार मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकहरूलाई कार्यक्षेत्रमै खटाएर पुलको फलामे लठ्ठा तान्ने तथा व्यवस्थापन  गरिरहेको छ।

यसैगरी, प्रभावित क्षेत्रमा क्षति पुगेका बाँकी १४ वटा झोलुङ्गे पुललाई पनि आगामी एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढाइएको छ।

यसबाहेक उक्त करिडोरमा थप ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ। पुनःनिर्माणका लागि आवश्यक पर्ने फलामे लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ।

उक्त बोलपत्र आगामी असोज ५ गते खोलिने तय भएको छ।

सरकारले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन’ अनुसार, बाढी आउनुपूर्व रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुलहरू सञ्चालनमा रहेका थिए। 

प्रकाशित: २५ भाद्र २०८३ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App