२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भारतको कोइलाखानीमा विष्फोट: खोटाङका दुई दाजु-भाइको मृत्यु, ४ नेपाली घाइते

भारतको मेघालयस्थित कोइलाखानीमा विष्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु भएको छ भने उदयपुर र खोटाङका गरी चारजना गम्भीर घाइते भएका छन्।

कोइला निकाल्नका लागि पहरा फोर्ने क्रममा बिहीबार भएको विष्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ का एकैघरका दाजुभाइको ज्यान गएको हो।

मृत्यु हुनेमा बराहपोखरी–१ सालघारी भञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गीमगर र उनकै सहोदर भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीमगर रहेका छन्।

उनीहरू स्थानीय खड्गबहादुर खपाङ्गीमगरका छोराहरू हुन्। मेघालयको उम्साङघाटस्थित खानीमा काम गर्ने क्रममा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले पुष्टि गरेको छ।

केही महिनाअघि मात्र रोजगारीका लागि मेघालय पुगेको ७ जनाको टोली सो दुर्घटनामा परेको थियो। दुर्घटनामा बराहपोखरीकै बमबहादुर खपाङ्गीमगर, कर्णबहादुर खपाङ्गीमगर र नरबहादुर खपाङ्गीमगर तथा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ललितबहादुर मगर घाइते भएका छन्।

टोलीमा रहेका बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल छन्। उनले नै फोनमार्फत घटनाबारे परिवारलाई जानकारी गराएका थिए। ताराबलका अनुसार घाइते चारैजनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार घटनाको खबरपछि गाउँपालिकाको सहयोगमा शुक्रबार नै पीडित परिवारका सदस्यहरू मेघालयतर्फ प्रस्थान गरेका छन्।

मृतकहरूको शव स्थानीय अस्पतालमा राखिएको छ भने घाइतेहरूको उपचार भइरहेको छ।

‘शनिबार दिउँसोसम्म आफन्तहरू घटनास्थल पुगे/नपुगेको यकिन हुन सकेको छैन, उहाँहरू पुगेपछि मात्र घाइतेहरूको वास्तविक अवस्था थाहा हुनेछ,’ डिएसपी बुढाथोकीले भने।

यता, त्रियुगा–१४ का वडाध्यक्ष हेम मगरले आफ्ना वडाका घाइते ललितबहादुर मगरको अवस्थाबारे यकिन जानकारी नआएको बताए। घटना भएको खबर आए पनि पछिल्लो अवस्थाबारे बुझ्न नसकिएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सो खानी विष्फोटमा परी २५ जनाको मृत्यु भएको बताइएको छ। यद्यपि, त्यसमा नेपालीहरूको कुल हताहती संख्याबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

प्रकाशित: २४ माघ २०८२ १९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App