८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मनाङमा तापक्रम माइनस ९, गोरखामा दुई फिट हिउँ

मुस्ताङमा शुक्रबार परेको हिउँले सेतै भएको क्षेत्र। तस्बिरःसुशीलबाबु थकाली

सन्तोष पोखरेल/नरहरी सापकोटा

पोखरा/गोरखा- दुईदिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ। त्यस्तै अर्को जिल्ला गोरखाको माथिल्लो क्षेत्रको दैनिकी पनि कठिनपूर्ण बनेको छ। गोरखाको माथिल्लो क्षेत्रमा दुईफिट हिउँ जमेको स्थानीयले बताएका छन्। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले बताएको छ।

मनाङका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार विहीबार दिनभर परेको हिउँ बेलुकी रोकिएको थियो। शुक्रबार बिहानबाट पुन हिमपात सुरु भएको सापकोटाले बताए। तापक्रम माइनस ९ डिग्रीमा झरेको र त्यसले जनजीवन प्रभावित पारेको उनले बताए। ‘बिहीबार पनि दिनभर हिउँ परेर बेलुकी रोकियो। शुक्रबार बिहान ११ बजेदेखि बेलुकीसम्म निरन्तर हिमपात भईरहेको छ,’ सापकोटाले भने, ‘चिसो अधिक भएकोले जनजीवन पूर्णतया प्रभावित भएको छ।’

उनका अनुसार स्थानीयबासि जाडो छल्नका लागि जिल्लाबाट बाहिरिएपछि सुनसान छ। केही पसले, कर्मचारी र होटलका कामदार र एकाध घरका कुरुवा बाहेक गाउँमा समेत मान्छे नभएको उनले बताए। ‘हामी नै ब्यारेकबाहिर निस्कन सक्ने अवस्था छैन। सबैतिर सुनसान छ। बस्नैपर्ने अवस्थाका र केही पसले बाहेक घरमा पनि कोही छैनन,’ उनले भने, ‘पर्यटकीय क्षेत्र भएपनि विदेशी आगमन पनि शून्य जस्तै छ।’ उनका अनुसार विहीबारसम्म गाडी चलेपनि शुक्रबार धारापानी भन्दा अगाडि गाडी उक्लिन सकेका छैनन्। धारापानीबाट गाडीमा सदरमुकाम चामे पुग्न एकघण्टा जति समय लाग्छ।

सापकोटाका अनुसार माथिल्लो क्षेत्र झनै हिउँले प्रभावित भएको छ। माथिल्लो मनाङ, हुम्दे क्षेत्रमा झनै बाक्लो हिमपात भएको उनले बताए। चिसोका कारण धारामा पानी समेत जमेको उनले बताए। खोलाको पानी समेत जम्न थालेको सापकोटाको भनाई छ। तल्लो भन्दा माथिल्लो क्षेत्र चिसोले झनै प्रभावित भएको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित कर्मचारी ब्रिज गुरुङका अनुसार माथिल्लो मनाङ क्षेत्रमा शुक्रबार बिहान ९ बजेदेखि हिउँ पर्न थालेको हो। त्यस क्षेत्रमा ६ इन्चजति हिउँ थुप्रिएको उनले बताए। ‘होटलका कुरुवा र केही स्थानीयबाहेक यहाँ कोही छैनन। सबैजना बासिन्दा जाडो छल्नका लागि तल (लम्जुङ, पोखरा, काठमाडौं) झरेका छन,’ उनले भने,‘सबैतिर सुनसान मात्र छ। पर्यटक पनि छैनन।’ अन्नपूर्ण फेरोको पदमार्ग पर्ने मनाङमा अहिले पर्यटक पनि नरहेको उनले बताए। ‘हिजो अस्ति आएका केही पर्यटक यतै छन्। विहीबारदेखि थोराङला भञ्ज्याङ पार गर्न पनि जान सक्ने अवस्था छैन,’ उनले भने, ‘शुक्रबार पनि पर्यटक उक्लिन सकेका छैनन्।’

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि बाक्लो हिमापात भईरहेको छ। अधिक चिसोका कारण स्थानीयबासि निकै नै प्रभावित भएका छन्। पोखरादेखि मुस्ताङमा हुँदै आएका हवाई उडान पनि हुन सकेका छैनन। प्रहरीले हिमपातका कारण दैनिकी प्रभावित भएको बताएको छ। बाक्लो हिमपातका कारण हिडडुलमा समेत समस्या रहेको प्रहरीले बताएको छ। पर्यटकीय क्षेत्र मुस्ताङमा पनि हिमपातका कारण पर्यटकको चहलपहल नभएको प्रहरीको भनाई छ।

उत्तरी गोरखामा दिनभर हिमपात

उत्तरी गोरखामा शुक्रवार दिनभर हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो, प्रोक र धार्चे गाउँपालिकाको लाप्राक लगायतका ठाउँमा शुक्रवार दिनभर हिमपात भएको त्यहाँका प्रहरी चौकीलाई उधृत गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

हिमपातका कारण जिल्लाको माथिल्लो भेगको जनजिवन प्रभावित भएको छ। लाप्राक स्थित गुप्सिपाखामा एकिकृत बस्ती निर्माणको काम पनि हिमपातका कारण रोकिएको छ। हिमपातका कारण चौँरी याक, भेडा चरन क्षेत्रमा लैजान समस्या भएको छ। माथिल्लो भेगका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। ‘दुईफिट बाक्लो हिउँ जमेको छ। घरको छानामा हिउँ संकलन भएको र धाराको पानी जमेपछि तताएर प्रयोग गर्नुपरेको छ भने टेलिफोन सम्पर्क सहजै हुन नसकेको अधिकारीले बताए।

तल्लो भेगमा बिहानै देखि दिनभर वर्षात भएको छ। लगातारको झरीले चिसो बढेको महशुस सर्वसाधारणले गरेका छन्। गोरखा सदरमुकाममा दिनभर सवारी साधन कम चलेका थियो भने ग्रामिण भेगबाट आउने सवारीमा पनि यात्रुको चाप घटेको प्रहरीको भनाई छ। जिल्ला प्रशासन, गोरखा नगरपालिका र वडा कार्यालयहरुमा अन्य दिन भन्दा शुक्रबार सेवाग्राहीको चाप निकै नै कम भएको पनि प्रहरीले बताएको छ।

 

 

 

प्रकाशित: १८ पुस २०७६ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App