२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

समयमै अस्पताल नपुर्‍याउँदा गर्भवतीको मृत्यु

फाइल फोटो

खोटाङ– अधिक रक्तश्रावका कारण खोटाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ।

वेथाले च्यापेको ९ घण्टापछि अस्पताल लैजाने क्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी सरिता खत्री विकको मृत्यु भएको हो। 

खोटाङबजारबाट जीप झिकाएर उदयपुरको गाईघाट लैजानेक्रममा उदयपुरको रानीबास पुग्दा सरिताको बुधबार राती ११ बजे मृत्यु भएको आफन्त कृष्णबहादुर विकले बताए। गाउँमा रहेको एकमात्र एम्बुलेन्स बिग्रिएका कारण जिप मागाउनु परेको थियो। 

बिहान ११ बजेदेखि अधिक रक्तश्राव भएपछि सरितालाई राती ८ बजेतिर अस्पतालतर्फ लगिएको थियो। १० वर्षअघि अन्तरजातिय प्रेम विवाह गरेकी सरिताले तेश्रोपल्ट सुत्केरी हुँदा ज्यान नै गुमाएकी हुन्।

पहिलोपल्ट घरैमा मृत बच्चा जन्माएकी सरिताले केही वर्षअघि अस्पतालमा शल्यक्रिया गरेर दोश्रोपटक मृत बच्चा जन्माएकी थिइन्।

दास्रो बच्चा पनि मृत जन्माएपछि तेस्रो बच्चा नजन्माउन अस्पतालले सल्लाह दिएको थियो। आफन्त कृष्णबहादुरका अनुसार समयमै अस्पताल पुर्याउन सकेको भए विकको ज्यान बच्ने थियो। 

स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर नहुँदा वडाका अधिकांश गर्भवती महिलाको स्वास्थ्य अवस्था जोखिममा छ। बर्थिङ सेन्टर स्थापनाका लागि वडा कार्यालयबाट परिणाममुखी पहल नभएको स्थानीयको गुनासो छ।

वडाध्यक्ष चन्द्रबहादुर थापाले भने वडाकातर्फबाट बर्थिङ सेन्टर स्थापनाको पहल थाले पनि गाउँपालिकाले स्थापना गर्ने भनेकाले ढिलाई भएको बताए। ‘पोहोर वडाकातर्फबाट बर्थिङ सेन्टर स्थापना गर्ने प्रयास थालेका थियौँ तर गाउँपालिकाले स्थापना गरिदिने भनेपछि काम हुन नसकेको हो,’ वडाध्यक्ष थापाले भने, ‘हामीसँग भवन पनि छ, भौतिक संरचना पनि छ। आवश्यक सामग्री जुट्ने वित्तिकै बर्थिङ सेन्टर स्थापना हुन्छ।’ 

गाउँपालिकाले यस आर्थिक वर्ष खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र सिमपानीमा बर्थिङ सेन्टर स्थापनाको तयारी भइरहेको जनाएको छ।

प्रकाशित: १७ पुस २०७६ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App