६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटक पर्खदै जाजरकोटका पर्यटकीय क्षेत्रहरु

जाजरकोट दरवार, मालिका क्षेत्र, सानी मालिका मन्दिर र ठाकुरजी दह । तस्बिर:जनक⁄नागरिक

जाजरकोट- देशै भर भव्य रुपमा नेपाल भ्रमण वर्ष २०२०को चर्चा चलिरहेको बेला जाजरकोटमा पनि  पर्यटक तान्ने कसरत सुरु भएको छ। भेरी नदीको  किनारै किनार भएर यसको नागबेली चाल हेरेर गाडीमा रमाउदै जाजरकोट पुग्ने पर्यटकहरुलाई  जाजरकोटको सुन्दरता  देखाउन सरोकारवालाहरु तम्सिएका हुन्।

प्राकृतिक, सामाजिक, ऐतिहासिक धार्मिक तथा साँस्कृतिक सुन्दरता र महत्व भल्काउने दर्जन बढी जिल्लाका पर्यटकीय क्षेत्रहरु भएको जाजरकोटमा पर्यटकहरु भित्र्याउनका लागि व्यापक तयारीसहितको कसरत सुरु भएको हो। जिल्लाका पर्यटकीय क्षेत्रहरुका प्रचारप्रसार गरि आउने पर्यटकहरुलाई भव्य स्वागत गर्दै जाजरकोटलाई बाहिर चिनाउने कामका लागि स्थानीय स्तरमा पहल सुरु गरिएको  जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावलले बताए।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लामा पनि समिति गठन भइसकेको र यहि समिति मार्फत आफूहरुले जिल्ला घुम्न आउने पर्यटकहरुको भव्य स्वागत तथा व्यवस्थापनको काम सुरु गरेको बताए। पर्यटन विकासको निकै सम्भावना रहेको जाजरकोटका विभिन्न ठाउँहरु हेरेर फर्किनेहरु फेरि पनि जाजरकोट आउने  वातावरण बनाउन आफूहरु लागि परेको उनको भनाइ छ।

सुन्दरता, कला, सँस्कृति र विविध महत्व बोकेका खलंगाको जाजरकोट दरवार, मछाइनाको मालिका मन्दिर क्षेत्र, खलंगाकै कालेगाउँको शिवालय मन्दिर क्षेत्र, बाहुनथानको अचम्मको साङट गुफा, कुदुको भुमेस्वर गुफा, वारेकोटको ठाकुरजी दह, साइक्वारी क्षेत्र, खलंगा रानागाउँकै कालिका मन्दिर, सानीमालिका मन्दिर क्षेत्र, थाप्लेका चारनाल दरवारहरु, रिम्नाको सहिद पार्क, मैदेको गुफा, जगतिपुर दरवार क्षेत्र, पैंकको मष्टा मन्दिर क्षेत्र, बारेकोट रामीडाडाको सिर्पाचौर उपत्यका, लहँको खानटाकुरा क्षेत्र, कुसे गाउँपालिकाको पाँचकटिया तथा गाइखुर क्षेत्र, कुसेकै कुसे हिमाल, वारेकोटको कराइचुली हिमाल, च्याखुरे पाटन,विभिन्न भरनाहरु, ९३ वर्ष पुरानो मटेलाको पुल, वुदवुदीको भूमिगत ट्यांकी, काफलचौरबाट सुन्दर हिमसृङखलाहरुको दृस्यहरु र नलगाड र भेरी नगरपालिकाको सीमानामा पर्ने वडालेख क्षेत्र, छेडागाड नगरपालिकाको पजारु डाँडागाउँमा रहेका १३ औं सताब्दीमा निर्माण भएका चैत्य गुम्बा क्षेत्र र भेरी नदीको जलयात्रा अर्थात र्‍याफिटङ जजारकोटमा पर्यटक तान्ने मुख्य सम्पदा र आधारहरु हुन्।

यहाँ उल्लेख गरिएका मध्य अधिकांश पर्यटकीय क्षेत्रहरुमा सडक पहुँच र इन्टरनेटको सुविधा भएका कारण जिल्लामा  आउने पर्यटकलाई घुम्न र रमाउन सजिलो हुने देखिएको छ। विक्रम सम्वत १८५२मा बनेको पाँच तले अहिले तीन तले भव्य एवं आकर्षक जाजरकोट दरवार नेपाल एकिरणमा जाजरकोटको भूमिकाको बारेमा जान्न चहानेहरुका लागि  महत्वपूर्ण पर्यटकीय क्षेत्र मात्र नभई अध्ययनको केन्द्र पनि हो। खलंगाको पिपलडाडाको टाकुरामा रहेको यस दरवार क्षेत्रवाट चारैतिर देखिने भेरीनदीको नागवेली रुप अनि सिस्ने हिमाल कुसे हिमाल अनि जलजला हिमालको दृस्यले मोहित पार्ने देखिन्छ।

विगतमा प्रचारप्रसारको अभावले ती पर्यटकीय क्षेत्रहरु गुमनाम भएपनि पछिल्लो चरणमा स्थानीय तथा राष्ट्रिय मिडिया, सामाजिक सन्जाल, युटुव र  अन्य माध्यमबाट प्रचारप्रसारमा  विशेष गरि जिल्लाका पत्रकारहरु जुटेपछि यी पर्यटकीय क्षेत्रहरुको चर्चा हुन थालेको नेपाल पत्रकार महासंघ जाजरकोटका सहसचिव रामचन्द्र घर्तीले बताए। केहि दिनअघि जिल्लामा बसेको सरोकारवालाहरुको बैठकले जाजरकोट घुम्न आउने पर्यटकहरुका लागि गाउँगाँउ तथा पर्यटकीय स्थलमा  भव्य स्वागत गर्ने निर्णय गरेको छ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र जाजरकोटलाई सफल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावलको अध्यक्षतामा २५१ सदस्यीय मुल समिति गठन गरिएको जिल्ला समन्व्य समितिका सदस्य तेजविक्रम शाहले बताए। उनले  सबैको साथ र सहयोग लिएर जाजरकोटलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनाउने तथा विकास गर्ने तयारीमा समितिले काम गर्ने बताए।

 

प्रकाशित: १५ पुस २०७६ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App