५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धबाबा यौन प्रकरण : बहस बाँकी, प्रदर्शन जारी

इटहरी – जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि पेस भएको अभियोगमा आइतबार बहस नटुंगिएकाले सोमबार पुनः हुने भएको छ।

गिरीलाई शुक्रबार जिल्ला अदालतले बयान लिएर आइतबार लागि बहस थालेकोमा उजुरीकर्ता महिलाका तर्फबाट सुनसरी जिल्लाका न्यायाधिवक्ता गोकुल निरौलासहित छजना सरकारी वकिलले बहस गरे। यस्तै, अधिवक्ताहरू आश्वनी भट्टराई र निराजन ओझाले पनि महिलाका तर्फबाट बहस गरे।

अभियुक्त गिरीका तर्फबाट अधिवक्ताहरू सरोजकुमार गिरी, दिनेशराज सत्याल र रमेश पराजुलीले बहस गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जनाए। उनका अनुसार गिरीका तर्फबाट अब अधिवक्ताहरू रुपेश कोइराला, मोहन कोइराला र दीपक खतिवडाले बहसका लागि वकालतनामा पेस गरेका छन्। ‘बहस नटुंगिएकाले कृष्ण दास गिरीलाई सोमबार बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ,’ स्रेस्तेदार पोखरेलले भने।

जिल्ला अदालत सुनसरी परिसरबाहिर आइतबार पनि गिरीलाई कारबाहीको माग राखेर उजुरी दिने महिला पक्षका अधिकारकर्मीले प्रदर्शन गरे। गिरी पक्षकाले पनि गिरी निर्दोष रहेको जनाउँदै भजन गाउँदै दिनभर प्रदर्शन गरे। दुवै समूहले शुक्रबार पनि दिनभर प्रदर्शन गरेका थिए।

गिरीले आफ्नै एक अनुयायीलाई चतरा आश्रममै जबरजस्ती करणी गरेको भनी मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी परेको थियो। सोही आधारमा २५ दिने प्रहरी अनुसन्धानपछि बिहीबार सरकारी वकिल कार्यालयले अदालतमा अभियोग–पत्र दर्ता भई थुनछेक बहस सुरु भएको हो।

अभियोग–पत्रमा गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ को (ङ) बमोजिम कसुर पुष्टि भएकाले त्यही ऐनअनुसार जबरजस्ती करणीमा कारबाही गर्न माग गरिएको छ। सो ऐनको दफा २१९ को ३ (ङ) बमोजिम १८ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी भएमा सात वर्षदेखि दस वर्षसम्म कैद हुने उल्लेख छ। अभियोग–पत्रमै पीडितको शारीरिक र मानसिक क्षति भएकाले गिरीबाटै मनासिव क्षतिपूर्ति पनि दिलाउन माग गरिएको छ।

गिरीले कात्तिक ४ गते काठमाडौं बस्दै आएकी अनुयायीलाई आश्रममा बोलाएर जबरजस्ती करणी गरेको अभियोग–पत्रमा उल्लेख छ।

प्रकाशित: १४ पुस २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App