७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

मेलम्ची नगरपालिका–१२ बाँसवारीमा ठडिएको थाक्ले एकीकृत नमूना बस्ती। तस्बिरः ध्रुव/नागरिक

मेलम्ची– चारवटा लहरमा ठडिएका घर। न साना न भद्धा, मझौला आकार। एकै डिजाइन र आकारका चिटिक्क संरचना। हरियो रंगको कर्कटपाताको छानाले चमक थप्दा बस्तीको सुन्दरता झनै खुलेको छ। झट्ट हेर्दा बस्ती सैनिक ब्यारेक झैँ लाग्छ। टाढैबाट चिटिक्क देखिने बस्तीका घर–घर डुल्दा जो कोहीको मन लोभ्याउँछ। 

भूकम्पले तहसनहस तामाङ समुदायको थाक्ले गाउँ ठडिएको छ, एकीकृत नमूना बस्ती बनेर। मेलम्ची नगरपालिका–१२ बाँसवारीको थाक्लेमा बनेको ३१ घरधुरीको एकीकृत बस्तीले गाउँको मुहारै बदलेको छ। यसैसाता थाक्ले पुग्दा हालै बस्तीमा घर बनाउने काम सकेका स्थानीय पूर्वाधार निर्माणमा व्यस्त देखिन्थे। 

उनीहरु बस्तीको संरक्षण गर्न चारैतिर पर्खाल लगाउने, ड्रेन उठाउने, नाला बनाउने, ह्लिपाई बिच्छ्याउँने र बाटो स्त्तरोन्नति गर्ने लगायत काम जुटिरहेका थिए। 

वस्ती पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर तामाङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वस्तीको पूर्वाधार विकास गर्न प्रतिघर तीन लाख रुपैयाँका दरले अनुदान दिएको बताए। ‘त्यसैबाट पूर्वाधार विकासको काम भइरहेको हो,’ बस्ती विकास समितिका कोषाध्यक्षसमेत रहेका उनले भने। उनका अनुसार मंसिरमै बस्तीमा घर बनाउने काम सकिएको थियो। त्यसयता पूर्वाधार विकासको काम भइरहेको हो। 

एकीकृत बस्ती १७ रोपनी जमिनमा फैलिएको छ। प्रत्येक घर सात रोपनी क्षेत्रफलमा बनेका छन्। आकर्षक पिँढी, फराकिला चार कोठा, घरभित्रै जडान गरिएको खानेपानी धारा र शौचालय थाक्ले बस्तीको विशेषता हुन्। घरमा चोटाको समेत व्यवस्था गरिएको छ। यहाँ अन्नपात, सरसामाग्री राख्न तथा मान्छे बस्न, सुत्न मिल्छ। घर–घरमा सडकको पहूँच पुगेकाले शारीरिक रुपमा अशक्त बनेको जो कोही व्यक्ति ह्विलचियर चढेरै सिँगो बस्ती परिक्रमा गर्न सक्छ। 

एकीकृत बस्ती बनेकै स्थानमा भूकम्पअघि स्थानीयको बसोवास थियो। जग्गा सट्टापट्टामा मिलाएर गत वर्ष पुसको अन्तिम सातादेखि स्थानीयले एकीकृत बस्ती विकासको काम थालेका थिए। महिला आत्मनिर्भरता केन्द्रसँगको साझेदारीमा अक्सफाम नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती ठडिएको हो। घर निर्माणमा अक्सफामले सात लाख २५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको बस्ती विकास समितिका अध्यक्ष खिलबहादुर तामाङले जानकारी दिए। 

‘पुनर्निर्माण सकिँदा श्रमदानसमेत प्रतिघर लागत १३ लाख रुपैयाँ पुग्ने अनुमान छ,’ उनले भने। उनका अनुसार साढे तीनदेखि चार लाख रुपैयाँ सम्बन्धित घरधनीले बेहोर्नु पर्ने देखिएको छ। विकासप्रतिको भोककै कारण गाउँ सल्लाहमै आफूहरुले एकीकृत बस्ती रोजेको उनले सुनाए। पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि बन्ने एकीकृत बस्तीको पूर्वाधार विकासमा सघाउने नीति लिएको छ। 

घर बनाउने काम सकिएकाले अक्सफामले बिहीबार मात्र समुदायलाई बस्ती हस्तान्तरण गरेको थियो। पूर्वाधार विकासको काम नै ५० प्रतिशत सकिएको प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर पुकार शर्माले जनाए। उनका अनुसार बस्तीको पूर्वाधार विकासमा पाँच करोड रुपैयाँ लाग्ने डिपिआर तयार भएको थियो। ‘तर प्राधिकरणको मापदण्डअनुसार प्राप्त थोरै रकमले धेरै काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने। शर्माका अनुसार बस्तीमा एउटा सामुदायिक भवन निर्माण गर्ने डिपिआर रहे पनि बनाउन बजेट पुग्ने देखिँदैन। 

बस्ती निर्माणमा स्थानीयले प्रतिघर तीन सय ६० जनाका दरले श्रमदान गरिसकेका छन्। पुर्वाधार विकासको काम भइरहेकाले श्रमदान गर्नेको संख्या अझ बढ्ने अध्यक्ष तामाङले बताए। आउँदो फागुनमा पर्ने आफ्नो समुदायको नयाँ वर्ष (ल्होसार) एकीकृत बस्तीमा मनाउने योजना रहेको उनले सुनाए। ‘एकीकृत बस्ती बसाईँको अनुभव बटुल्न उत्साहित छौँ,’ उनले भने। 

उनका अनुसार बस्तीमा पशुचौपाया पाल्न प्रतिबन्ध लगाइएको छ। बस्ती आसपास स्थानीयको प्रशस्त जग्गाजमिन रहेकाले बस्तुभाउ त्यहीँ पाल्ने योजना बनाइएको छ। बस्तीमा बस्ने स्थानीयले आयआर्जनको अभ्यास पनि थालिसकेका छन। तरकारी खेती र कुखुरापालन गरेर आयआर्जनमा हात हालेका हुन्। 

 

प्रकाशित: १२ पुस २०७६ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App