१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

बालविवाह र जातिय विभेद सम्बन्धि अभियान्ताहरुबीच छलफल गर्दै जोडि कार्यकर्ता। एरिना विक कक्षा ९ को वार्षिक परिक्षा दिँदै ।

डोल्पा- जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

बालविवाहविरुद्ध जनचेतनामूलक सन्देश लेखिएका पर्चापलेट बोकेर गाउँबस्तीमा टाँस्दै हिड्नु र बालविवाहले पार्ने समस्याकाबारे कानूनी र अनुभवका जानेसम्मका कक्षा दिनु यत्तिखेर उनको दिनचर्या बनेको छ। जुफालकी लक्ष्मी विक बालविवाहविरुद्धकी अभियान्ता मात्र नभई एक जोडि कार्यकर्ता पनि हुन्। उनीसँगै उनका श्रीमान इन्द्र विटालुले पनि यो अभियानमा साथ दिँदै आएका छन्।

गाउँघरमा हुने बालविवाहविरुद्ध मात्र नभई महिला स्वास्थ्य प्रजननको अवस्था, सुत्केरी महिलाहरु प्रति गरिने धामीझाँक्रीहरुको व्यवहार, आफ्नो नाममा जग्गाधनी पूर्जा भएका महिलाहरुको लागत संकलन, छुइ बार्नेहरुको संख्यालगायत जातियविभेदका बारेमा निगरानी राख्नुका साथै गलत प्रवृतीका बारेमा बहस पैरवीसमेत लक्ष्मीको दम्पतीले गर्दै आएको छ। पछिल्लो समय लक्ष्मी दम्पतीको लामो प्रयासले सार्थकता पाउदै जान थालेको छ। ठुलीभेरी नगरपालिका ७ जुफालकी वर्ष १२ की एरिना विक बालविवाह हुनबाट जोगिन्। आर्दश माद्यमिक विद्यालय जुफालमा कक्षा ७ मा अध्यायनरत एरिना विकलाई कहिल्यै नदेखेका निराजन र भरुने विक नामका युवकले विवाहका लागि जवरजस्ती फकाउन थाल्दा उनले अस्वीकार गरिन्। फलस्वरुप उनी अहिले कक्षा ९ मा पढ्दै छन्।

मेरो त झण्डै जीवन नै सकिने रहेछ जोडी कार्यकर्ताले बालविवाहबारे कक्षा नदिएको भए। लक्ष्मी दम्पतीले बालविवाहविरुद्ध चालेको अभियानकै कारण आफू नारकीय जीवन जीउनबाट बचेको एरिनाले नागरिकलाई बताइन्।
'हाम्रोमा त सानै हुँदा विवाह गर्छन् र छिटै म जस्तै बालिका स्वर्गमा पुग्छन्। कोही बच्चा जन्माउन नसकेर त कोही अत्यधिक रक्तस्राव भएर मर्ने गरेका छन्' एरिनाले भावुक बन्दै भनिन् 'सर हाम्रो समाजमा यो अवस्थाको अन्त्य कहिले होला।'

बालविवाह एक सामाजिक अपराध हो। जसलाई मुलुकी फौज्दारी संहिता ऐन २०७४ को दफा १७३ ले दण्डनीय अपराधको रुपमा लिपिबद्ध गरेको छ। विवाह गर्ने कानूनी उमेर २० वर्ष तोक्नुका साथै बालविवाह गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवानाको व्यवस्था गरि त्यस्तो विवाहलाई स्वत बदर हुने व्यवस्थासमेत कानूनले गरेको छ। तर पनि हिमाली जिल्ला डोल्पामा बालविवाहको अवस्था भयावह छ।

कर्णाली जनजीविका कार्यक्रम–केड को आर्थिक सहयोगमा महिला सशक्तिकरण केन्द्र डोल्पाले सन् २०१७ अगस्टदेखि त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र काइके गाउँपालिकामा बालविवाह स्वास्थ्य प्रजनन कार्यक्रम अन्तरगत जोडि समूह कार्यकर्तामार्फत अन्य कार्यक्रमसँगै बालविवाहविरुद्धको अभियानलाई तीव्र बनाउदै लगेको हो। महिला सशक्तिकरण केन्द्रले आफ्ना जोडि कार्यकर्तामार्फत कार्यक्रम लागू भएका तीन स्थानीय तहमा गरेको घरधुरी सर्वेक्षण र अभियानका क्रममा संकलन गरेको तथ्याङ्कका आधारमा डोल्पामा ८५ प्रतिशतको हाराहारीमा बालविवाह हुने गरेको बताएको छ।

महिला सशक्तिकरण केन्द्र डोल्पाकी कार्यक्रम संयोजक तथा अभियान्ता सम्झना विकले अशिक्षा चेतनाको कमि, मानव अधिकार कानूनको अभाव र परम्परागत सोचाईका कारण डोल्पामा बालविवाह र जातिय विभेदको अवस्था भयावह रहेको बताइन्। बालविवाहले बालबालिकाको शारीरिक, मानसिक, मनोबैज्ञानिक तथा प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पुर्‍याउने बताउदै सभ्य अनुशासित र समान समाज निर्माणको लागि आफ्नो संस्थाले विभिन्न स्थानीय तहहरुमा जोडि कार्यकर्ता बनाएर निगरानी तथा तथ्याङ्क संकलन गरिरहेको संयोजक विकको भनाइ छ।

सहयोगी संस्था कर्णाली जनजीविका कार्यक्रम केडका लिला टमटाले डोल्पामा बालविवाहकै कारण सुत्केरी हुन नसकेर र अत्याधिक रक्तास्राव भएर विवाहित बालिकाले ज्यान गुमाउनु परेको बताए। जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार बालविवाहकै कारण सुत्केरी हुन नसकेर र अत्याधिक रक्तस्राव भएर पछिल्लो समय ३ जना विवाहीत बालिकाले मृत्युवरण गर्नु परेको छ। यसका साथै आफ्नो संस्थाले स्थानीय बाली प्रवद्र्धन गर्ने गरि महिला दलित कृषि कार्यक्रम पाठेघर खस्ने महिलाहरुको पहिचान र समस्या समाधानमा जोडलगायत जीवनउपयोगी सिपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको पनि केडका टमटाले बताए।

त्रिपुरासुन्दरी नगरपालिका ३ जीउ गाउँका जोडी कार्यकर्ता एलिना विक र राजेन्द्र विकले आफूहरुले ६ जना उमेर नपुगेका बालिकाको विवाह रोक्न सफल भएको बताए। एलिना दम्पतीले आफूहरुले गाउँमा बालविवाह भएको घरमा जन्त पनि नजाने भोजभतेरमा सहभागी नहुने र पहिले गैरकानूनी अपराध नगर्न सम्झाउने नमाने प्रहरीलाई खबर गर्नेसमेत गरिएको बताए। हामीले त बालविवाह गर्ने घरलाई बहिष्कार गर्छौ, पानीसमेत खान नहुने गरेपछि पछिल्लो समय बालविवाहमा थोरै भएपनि न्यूनिकरण हुन थालेको छ एलिना विकले भनिन्।

बालविवाह जातिय विभेद र महिला प्रजनन स्वास्थ्य कार्यक्रमका लागि जोडी कार्यकर्ताले संकलन गरेका तथ्याङ्क र समाधानका लागि अपनाउनु पर्ने विषयका सम्बन्धमा सहयोगी संस्थाले समयसमयमा नागरिक समाज संचारकर्मी र असामाजिक अभियान्ताहरुको सहभागितामा छलफल तथा अनुगमनसमेत गरि कार्यक्रमलाई प्रभावकारी बनाउदै लगेको पाइन्छ। उमेर नपुगेर गरिने विवाहले बालबालिकामा विभिन्न प्रकारका रोग तथा कमजोरी देखिनुका साथै जन्मने बच्चाहरु अपाङ्ग जन्मनुका, आमा र बच्चा दुवैको ज्यानसमेत जान सक्ने भएकाले बालविवाह रोक्न थालिएको प्रयासलाई अझै प्रभावकारी बनाउनु पर्ने महिला नेतृ उर्मिला विश्वकर्माले बताइन्।

 

प्रकाशित: १२ पुस २०७६ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App