धादिङ – पृथ्वी राजमार्ग क्षेत्रमा खुलेका होटल तथा घरबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ। फोहोरको उचित व्यवस्थापन तथा डम्पिङ साइट नहुँदा मुख्य बजार क्षेत्र, होटल, कारखानालगायत क्षेत्रबाट निस्कने फोहोर सीधै त्रिशुलीमा फ्याँकिने गरिन्छ, जसका कारण राजमार्ग हुँदै यात्रा गर्नेहरू दुर्गन्ध सुँघ्न बाध्य हुन्छन्। जथाभावी फ्याँँकिने फोहोर मारमा त्रिशुली नदी परेको छ। नदीको पानीमा प्रदूषणको मात्रा दिनदिनै बढ्दो छ।
बढ्दो बजारीकरणसँगै सवारीसाधनको चाप बढेपछि बजार क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय तहलाई पनि चुनौती थपिएको छ। बजार क्षेत्रमा दैनिक जम्मा हुने फोहोर फ्याँक्ने डम्पिङ साइट नहुँदा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ। बजार क्षेत्रको बिस्तारसँगै फोहोरको मात्रा बढे पनि सरोकारवालाले फोहोर व्यवस्थापनमा चासो नदेखाएको स्थानीयको आरोप छ। फोहोरको उचित व्यवस्थापन गर्ने भन्दै राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहले योजना पनि बनाएका छन् तर कार्यान्वयन गराउन भने सकेको छैन।
घर होस् वा पसल, उद्योग कलकारखाना, विद्यालयबाट निस्कने फोहोरको विसर्जन गर्ने निश्चित ठाउँ नहुँदा त्रिशुली नदी किनार डम्पिङ साइटमा रूपान्तर हुन थालेका छ। चौबीसै घण्टा व्यस्त राजमार्ग वरपरका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र प्लास्टिलगायत फोहोर खुला ठाउँमा पोल्ने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्ध र प्रो सास्ती भोग्दै आइरहेका छन्।
चौबीसै घण्टा व्यस्त राजमार्ग वरपरका बजारबाट दैनिक रूपमा संकलन हुने फोहोर सीधै त्रिशूलीमा फाल्ने र प्लास्टिकलगायत फोहोर खुला ठाउँमा पोल्ने गरिँदै आएको छ, जसले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुले दुर्गन्ध र प्रदूषणको सास्ती भोग्दै आइरहेका छन्।
सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष सुरु हुनै लाग्दा यस्ता फोहोरले पर्यटन वर्षको नारालाई धादिङमा असफल पार्ने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर राजमार्गका ठाउँठाउँमा थुप्रिएका फोहोरले सरकारको वातावरण संरक्षणसम्बन्धी नारालाई गिज्जाइरहेको भान हुन्छ। राजधानी भित्रने र बाहिरिने प्रमुख नाकामध्ये पृथ्वी राजमार्गको ठाउँठाउँमा फोहोरको डंगुर थुप्रिन थाले पनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन।
व्यवस्थित रूपमा ल्यान्डफिल साइट नहुँदा पृथ्वी राजमार्ग छेउछाउबाट त्रिशूली नदीमा फोहोर फाल्ने क्रम बढेको मलेखुकी होटल व्यवसायी सरिता श्रेष्ठले बताइन्। ‘फोहोर फाल्ने व्यवस्थित नै ठाउँ छैन, ठूला बजार र होटल छन्, यहाँबाट निक्लिएको फोहोर खोला किनारमा नफालेर कहाँ लगेर फाल्ने त ? उनले भनिन्, ‘अझ कतिपय ठाउँमा त मानव स्वास्थ्यलाई असर गर्ने र नष्ट नहुने फोहोरसमेत थुप्रिएका छन्।’
फोहोर फाल्ने ठाउँ व्यवस्थित नभएकाले नै स्थानीयले रात–साँझ पारेर राजमार्गका खुला ठाउँमा फोहोर थुपारिदिने गरेको स्थानीयले बताए। राजमार्ग छेउछाउका खोल्साखाल्सीलाई फोहोर फाल्ने डम्पिङ साइट नै बनाइएको छ। कुनै टोल, समुदाय अथवा पालिकाले उक्त ठाउँ तोकेको नभई ती ठाउँ दिनहुँ फोहोर फाल्दा फाल्दै डम्पिङ साइटजस्तै बनिसकेका हुन्। राजमार्ग क्षेत्रका केही स्थानीय तहले राजमार्ग सफाइका लागि विभिन्न गैरसरकारी संस्थासँग मिलेर काम गरेको भए पनि देखिने काम भने भएको छैन। मौसमी रूपमा राजमार्ग सफाइ अभियान पनि चलाइरहेकै छन् तर त्यसको कुनै असर देखिएको छैन।
यता गाउँपालिकाका पदाधिकारी भने भ्रमण वर्षलाई लक्ष्य गरेर आफ्नो पालिकाभित्रको राजमार्ग क्षेत्र सफा र स्वच्छ बनाउने अभियान सुरु गरिरहेको दाबी गर्छन्। देशमा संघीयता लागू भएर गाउँगाउँमा स्थानीय सरकार घोषण भएको साढे दुई वर्ष बितिसक्यो तर फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको भने अत्तोपत्तो छैन। बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले फोहोरलाई मोहोरमा परिवर्तन गर्न सकिने भन्दै फोहोर व्यवस्थापन भइरहेको बताउँछन्। तर उनको भनाइअनुसारको काम व्यवहार भएको भने देखिँदैन।
राजमार्गका मुख्य बजारहरू धादिङको धार्के, नौबिसे, थार्के, महादेव बेंसी, बैरेनी, गजुरी, मलेखु, चितवनको मुग्लिन, कुरिनटारलगायत क्षेत्रबाट दैनिक निस्कने फोहोर त्रिशुली नदी किनारामा फ्याक्ने गरिन्छ। नागढुंगाबाट अगाडि बढ्दा पृथ्वी राजमार्गका दर्जनौं स्थानहरू यस्तै फोहरको थुप्रोले भरिएका देखिन्छन्। राजमार्ग क्षेत्रमा फोहोर विसर्जन गर्ने निश्चित ठाउँ नहुँदा स्थानीयले फोहोर सीधै लगेर त्रिशुलीमा फ्याँकिदिन्छन्।
प्रकाशित: १० पुस २०७६ ०४:२१ बिहीबार