२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्ष पक्राउ

बारा – सवारी ज्यान मुद्दामा १३ वर्षदेखि फरार विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। विश्रामपुर–३ स्थित आफ्नै घरबाट उनलाई आइतबार नियन्त्रणमा लिइएको हो। अदालतले कैदसजायको रेकर्डमा नाम भएका अभियुक्तहरूको सूची तयार पार्ने क्रममा अमिरीलालको समेत नाम भेटिएपछि उनलाई नियन्त्रणमा लिएर बारा जिल्ला अदालतमा बुझाइएको बाराका प्रहरी प्रमुख विकासराज खनालले बताए।

भेडिहरलाई बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र दुई हजार जरिवाना ठहर गरेको रेकर्डमा देखिएपछि उनलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरिएको उपरीक्षक खनालले बताए। वीरगन्जबाट पथलैया जाने क्रममा भेडिहरले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा छातापिप्राका स्थानीय ६५ वर्षीया हसियादेवी चौधरीको २०६२ माघ २८ गते मृत्यु भएको थियो। चौधरीको मृत्युपछि मृतकका आफन्त लखनलाल चौधरीले भेडिहरविरुद्ध प्रहरीमा सवारी ज्यानमा मुद्दा दर्ता गराएका थिए।

चौधरीले मुद्दा दर्ता गराएपछि प्रहरीले अनुसन्धान गरी थप कारबाहीका लागि फाइल बारा जिल्ला अदालतमा बुझाएको थियो। अदालतले २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा भेडिहरलाई दोषी ठहर गरी कैद र नगद जरिवाना गरे पनि उनी राजनीतिक पहुँचका आधारमा बच्दै आएका थिए। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

बाराका प्रहरी उपरीक्षक खनालले अदालतबाट नगद र कैद सजाय पाएका भेडिहरलाई त्यसैबेला नियन्त्रणमा लिएको भए उनी फरारको सूचीमा पर्दैनथे। ‘अहिले पुराना फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान नचालेको भए भेडिहर अदालतको आदेशअनुसार कैदसजाय नकाटीकनै बसिरहेका हुन्थे,’ उपरीक्षक खनालले बताए। पक्राउ परेका राउतलाई जिल्ला अदालत बाराको आदेशबाट वीरगन्ज कारागार पर्सामा बुझाइएको बाराका एसपी खनालले बताए।

प्रकाशित: ७ पुस २०७६ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App