२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

झोलुङ्गे पुलले छोट्यायो दूरी

पुलको उद्घाटन गर्दै मेयर हस्त पुन, उपमेयर मैना विकलगायत। तस्बिरःनगेन्द्र/नागरिक

सुर्खेत- गुर्भाकोट नगरपालिको बोटेचौर बजार र घुमखहरे गाउँलाई भेरी नदीले छुट्याएको छ। हेर्दा नजिकै देखिने यि बस्ती पुग्न केही दिनअघिसम्म दुई घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। नजिकै पुल नहुँदा स्थानीय भेरीमा जोखिमपूर्ण यात्रा गर्थे। पछिल्लो पाँच वर्षको अवधिमा भेरी तर्ने क्रममा तीन जनाले ज्यान गुमाए। ति मध्येका एक हुन्, इन्द्रबहादुर राना।

भेरी नदीमाथि पुल नहुँदा साविकको घुमखहरे गाविसबाट सहारे आउन दुई घण्टासम्म पैदल यात्रा गर्नु पर्दथ्यो। भेरीको जंघार तर्ने क्रममा पछिल्लो पाँच वर्षको अवधिमा तीन जनाले ज्यान गुमाए। अहिले आँपसोतीमा पुल बनेपछि दुई घण्टाको यात्रा १० मिनेटमा झरेको छ।

‘भेरी वारपार गर्ने पुल थिएन, जंघार तर्न खोज्दा श्रीमानले ज्यान गुमाउनु पर्‍यो,’ इन्द्रबहादुरकी श्रीमती पवित्राले भनिन्, ‘अब पुल बनेको छ, कसैले पनि भेरीमा अकालमा ज्यान गुमाउने छैनन्।’ श्रीमानको सम्झनामा पवित्राले झोलुङ्गे पुलका लागि निःशुल्क जमिन दिइन्। त्यहीँ ठाउँमा अहिले १७९.८० मिटर लामो पुल बनेको छ। ‘लामो यात्रा गर्न झन्झट हुने भएकाले बर्षाको भेलमा पनि भेरीमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हामीलाई थियो,’ पवित्राले भनिन्, ‘भेरीको जोखिमपूर्ण यात्रा मात्रै टरेको छैन, डेढ–दुई घण्टाको लामो दूरी १०–१५ मिनेटमै झरेको छ।’

घुमखहरेका ६५ वर्षीय शशी विश्वकर्मा अहिले १० मिनेटमै बोटेचौर बजार पुग्छन्। आफ्नो घर नजिकैको त्यहीँ बजार जान केही दिनअघिसम्म उनी कम्तिमा डेढ घण्टा पैदल यात्रा गर्थे। ‘औषधी उपचार गर्न, किनमेल गर्न, गाडी चड्न र काम खोज्न हाम्रा लागि सबैभन्दा नजिकको ठाउँ बोटेचौर बजार हो,’ आफ्नो जीवनको करिब ६० वर्ष लामो यात्रा गरेर बजार पुग्ने गरेका उनले भने, ‘भेरीमा पुल बनेपछि डेढ–दुई घण्टाको यात्रा १० मिनेटमा सीमित भएको छ।’

गुर्भाकोट नगरपालिका–९ को बोटेचौर बजार भेरी करिडोर अन्र्तगतको मुख्य नाका हो। यहीँबाट सल्यान, जाजरकोट हुँदै डोल्पा पुगिन्छ। सुर्खेत–दाङको प्रस्थान विन्दू पनि यही बजार हो। सदरमुकाम वीरेन्द्रनगर आउनका लागि पनि भेरीपारीका बासिन्दा घुमाउरो बाटोबाट यहीँ आउनु पर्दथ्यो। स्कूले बालबालिका पनि यहीँ घुमाउरो बाटो प्रयोग गरेर विद्यालय आउँथे।

साविकको घुमखहरे र बोटेचौर गाविसलाई जोड्न आँपसोतीमा झोलुङ्गे पुल बनेपछि कृषि उपजको बजारिकरणदेखि आउजाउमा सहज भएको छ। पुल बनेपछि आवत–जावत, आफन्त भेटघाट, सामान खरिद बिक्री गर्न सहज भएको लालबहादुर खत्रीले बताए। ‘पहिले कोही आफन्त आएको घरबाट प्रष्टै भेरीपारी देखिन्थ्यो। तर, घर पुग्न लामो समय लाग्थ्यो,’ उनले भने, ‘अब त यो अवस्था रहेन।’

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पुल बनेपछि नगरपालिकाभित्रका ९, १० र ११ नम्वर वडाका चार सयबढी घरधुरी लाभान्वित भएको बताए। ‘कृषकहरुले आफ्नो उत्पादन बेच्न कम्तिमा एकदेखि दुई घण्टासम्म हिँड्नुपर्दथ्यो, विद्यार्थीहरुलाई घरपारिको स्कुल जान समस्या थियो,’ मेयर पुनले भने, ‘पुल बनेपछि यस्ता समस्या समाधान भएका छन्।’ आर्थिक वर्ष २०७२/७३ मा ठेक्का सम्झौता भएको पुल एक करोड २० लाखमा सम्पन्न भएको हो।

 

 

 

प्रकाशित: १ पुस २०७६ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App