१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मानव–जंगली जनावर द्वन्द्व : मानवीय क्षति बढेको बढ्यै

राजविराज-जंगली जनावरको निरन्तरको आक्रमणले पूर्वी सप्तरीका सर्वसाधारण त्रस्त बनेका छन्। जंगली जनावर र मानवबीचको द्वन्द्व व्यवस्थापनको स्थायी उपाय अवलम्बन गर्न ढिलाइ हुँदा मानवीय तथा भौतिक क्षति लगातार बढिरहेको छ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट बस्तीतिर आहाराको खोजीमा आउने जंगली जनावरले सधैं विध्वंश मच्चाउने गरेका छन्। हात्तीलगायतका जंगली जनावरले हरेक वर्ष मच्चाउँदै आएको उत्पातले गाउँले रातभर जाग्राम बस्न बाध्य छन्। रातैभर अनिँदै बसेर ड्युटी नगरे जुनसुकै बेला जंगली जनावरले बालीनाली सखाप पारिदिने र घरैमा आक्रमण गर्ने जोखिम रहेको स्थानीयवासी बताउँछन्।

      शनिबार मात्रै कञ्चनरुप नगरपालिकामा जंगली जनावरको आक्रमणमा एक महिलाको ज्यान गएको छ। कञ्चनरुप नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षीया सीतादेवी सदाले बँदेल आक्रमणमा परेर ज्यान गुमाएकी हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दिउँसो ३ बजे उनलाई जंगलमा घाँस काट्ने क्रममा जंगली बँदेलले आक्रमण गरेको थियो। आक्रमणबाट सदाको घाँटीमा गहिरो चोट लागेको थियो। गम्भीर घाइते उनलाई तत्कालै उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल लगे पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

      शनिबार नै जंगली हात्तीको हुलले कञ्चनरुप–७ बलुवा सीतापुरमा एक जनाको घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गरेको छ। कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएका पाँच वटा जंगली हात्तीको समूहले शनिबार राति स्थानीय दामोदर महतोको घर, गाईगोठ र पूजाघरसमेत भत्काइदिएको छ। अन्नपात पनि खाएर नष्ट गरेको छ।

      सोही स्थानका किसान जगतराज महतोको बारीमा लगाएको तरकारीखेतीसमेत हात्तीले कुल्चेर नष्ट गरेको छ। यसअघि शनिबार दिउँसो कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने अन्दाजी ७५ वर्षीय सनमान भुजेल जंगली हात्तीको आक्रमण परी घाइते भएका थिए। आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको हो।

जंगली जनावरका कारण सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकामा आक्रमणबाट मृत्यु भए पनि स्थानीय सरकार र आरक्ष प्रशासनले आतंक घटाउन भने कुनै चासो देखाएका छैनन्। जंगली जनावरको आक्रमणबाट सप्तरीमा हालसम्म २० जनाले ज्यान गुमाएका छन्। अझै पनि कतिपय मृतक परिवारले क्षतिपूर्तिसमेत पाएका छैनन्। जंगली जनावरको आतंकका कारण सप्तरीको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोसी नगरपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र रुपनी गाउँपालिकाको विभिन्न वडाहरूमा घर भत्काउने र अन्य क्षति पुग्दै आएको छ। जंगली जनावरले मानव बस्तीमा उत्पात मच्चाउनुका साथै सर्वसाधारणलाई आक्रमण गरी ज्यान लिने गरेको समस्या सप्तरीका लागि नौलो होइन। झण्डै दुई दशकदेखि सप्तरीको पूर्वी भेगका सर्वसाधारणले यस्तो समस्या भोग्दै आएका छन्। तर, आजसम्म समस्याको समाधानतर्फ राज्यले ठोस कदम चाल्न नसकेको सर्वसाधारणको गुनासो छ।

प्रकाशित: १ पुस २०७६ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App