२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुत्केरीले भत्ता पाएनन्

रोल्पा- रोल्पामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुले भत्ता पाएका छैनन्। यस विषयमा स्थानीय सरकार उदासिन हुँदा सरकारले नै तोकेको भत्ता पाउनबाट सुत्केरी बन्चित भएका हुन्। सरकारले पहाडि जिल्लाका लागि स्वास्थ्य संस्थामा सुत्केरी भए बापत २ हजार र नियमित ४ पटक गर्भजाँच गरेको ८ सय गरि एकमुष्ट २ हजार ८ सय प्रोत्साहन भत्ता दिने भनिए पनि स्थानीय सरकारले ध्यान नदिदा कार्यान्वयन हुन नसकेको हो।

सुत्केरीलाई रकम नदिएको बिषयमा कतै लेखापाल र स्वास्थ्यकर्मी बिचमा आरोप प्रत्यारोप पनि चल्ने गरेको छ। ‘गाउँपालिकामा पैसा छ तर स्वास्थ्यकर्मीले मागेकै छैनन्। माग आयो भने तुरुन्तै निकासा गर्छौ। पेश्की समेत दिन्छौ,’ लुङग्री गाउँपालिकाका लेखापाल शालिकराम गैरेले भने। ‘आज सम्म मेरो टेबुलमा सुत्केरी भत्ता माग गरेको फाईल आएको छैन।’

उता लुङग्री गाउँपालिकामा रहेको पाङ स्वास्थ्यचौका ईन्चार्ज दामोदर पुलामी गाउँपालिकामा पटक पटक भने पनि रकम नआएको बताउँछन। ‘गाउँपालिकाको बैठकमा पटक पटक भनेको हो। अध्यक्ष, स्वास्थ्य संयोजकलाई सबै जानकारी छ। हरेक स्वास्थ्य संस्थामा पेश्की समेत पठाउने निर्णय नै भएको तर बजेट आएको छैन।’

त्यसो त सुनिलस्मृती गाउँपालिका भित्रका सुत्केरीले पनि ५ महिनाको यो अवधिमा सुत्केरी भत्ता पाएका छैनन्। ‘अहिलेसम्म उधारोमै चलेको छ। निकासा प्रक्रियामा छ। केहि दिनमा निकासा होला। सुत्केरीलाई भत्ता समेत दिन नसक्नु राम्रो होईन।’ सुनिलस्मृती गाउँपालिका स्वास्थ्य संयोजक मोतिम आलमले भने ‘कति संस्थाले यताउति गरेर दिएका होलान तर समग्रमा सुत्केरीले भत्ता पाएका छैनन्।’

गाउँका कतिपय स्वास्थ्यकर्मीले आफ्नो गोजिको पैसा खर्चेर सुत्केरीलाई भत्ता दिईरहेका छन्। स्थानीय सरकारले स्वास्थ्य जस्तो सम्वेदनशिल बिषयमा कहिल्यै चासो दिने गरेको छैन। ‘औषधि तथा उपकरण खरिद जस्ता कमिसन आउने ठाउँमा सबैको ध्यान जान्छ तर यस्ता बिषयमा कसैले चासो नै दिदैनन्।’ एक स्वास्थ्यकर्मी भन्छन् ‘जनस्वास्थ्यका बिषयमा कसैलाई चासो नै छैन।’

 

 

प्रकाशित: २९ मंसिर २०७६ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App