६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सुदूरका पहाडी जिल्लामा हिमपात, भिमदत्त राजमार्ग अवरुद्ध

भिमदत्त राजमार्ग अन्तर्गत शाहुखर्क क्षेत्रमा हिमपातका कारण भएको सडक जाम।

डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ। घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ। डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा बिहानैदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ। हिउँ परेपछि पहाडका जिल्ला अवत जावत गर्ने सवारीका साधन राजमार्गमै रोकिएका छन्।  

बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो। यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो। भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे रमहाकाली राजमार्गको भालुमारे अनारखोली सडक क्षेत्रमा हिमपात भएको स्थानीय भिम देउवाले बताए। शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको उनले बताए।

सडक क्षेत्रको हिउँ पन्छाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकबाट हिउँ पन्छाउने काम गरिए पनि सवारी साधन चालककले दुर्घटनाको जोखिम भन्दै सवारी साधन सञ्चालन गर्न मनेका छैनन्।

डडेल्धुरा सदरमुकामको अहिलेको तापक्रम ३.२ डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्युन हो। अहिलेसम्म ७.० मिलिलिटर वर्षा भएको हावापानि फिल्ड कार्यालयले जनायो। जल तथा मौसम विभागले जारी गरेको विज्ञप्ति अनुसार शनिबार दिनरात वर्षाको सम्भावना रहेको छ भने आइतबार मध्यान्ह १२ बजेपछि मोसम खुल्ने सम्भावना रहेको हावापानि फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारले बताए।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

हिउँदे यामको यो पहिलो वर्षा हुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने झरीसँगैको हिमपातले धेरै राहत पुर्‍याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। झरीसँगै हिमपात भएकोले किसानहरु भने खुसी भएका छन्।

 

प्रकाशित: २७ मंसिर २०७६ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App