coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडक बन्यो, पुल बनेन

अलपत्र अवस्थामा रहेको सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका र मकवानपुरको बागमती जोड्ने निर्माणाधीन पक्कि पुल। तस्बिर:अनिल/नागरिक

हरिहरपुरगढी (सिन्धुली) - सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती–४ जोड्ने बागमती खोलाको पुल नौ वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा ठेक्का सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको थियो। तर पुल निर्माणको काम हालसम्म ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयले बताएका छन्।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको उक्त मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) राजमार्ग अन्र्तगत सिन्धुली र मकवानपुर जोड्ने पुल नबन्दा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन्। यस क्षेत्रमा सडकतर्फको काम करिब ९५ प्रतिशत पुरा भइसके पनि पुल अलपत्र पर्दा सिन्धुली र मकवानपुर जोडिन सकेको छैन। भ्याटबाहेक अनुमानित लागत ३८ करोड रहेको पुल २१ करोडमा ठेक्का सम्झौता भएको र चार सय तीन मिटर लामो पुल निर्माण गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत पनि निर्माण हुन सकेको छैन। १२ वटा पिलरमध्ये ११ वटा पिलरको काम सकिएको छ भने अर्को पिलरको जगमा चट्टान आएको भन्दै निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ।

मदन भण्डारी राजमार्ग पश्चिम खण्ड आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर केशव ओझाका अनुसार सुरुवातमा सडक विभागको पुल महाशाखाले यसको रेखदेखको जिम्मेवारी लिएको थियो। विभागअन्र्तगत तत्कालीन धरानमा रहेको पुल सेक्टरले यसको रेखदेख गर्दै आएकोमा तत्कालीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना) ले नै रेखदेख गर्ने गरी सम्झौता भएको थियो।

समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बन्न नसकेको आयोजना कार्यालयले जनाएको छ। निर्माणको जिम्मा पाएको स्वच्छन्द भैरवले निर्माणको समयमा क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो। तर पेटी ठेक्काबाट काम नभएपछि निर्माण कम्पनी आफैंले निर्माण गर्ने बताए पनि हाल निर्माण क्षेत्रमा थोरै कामदार रहेको र निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्।

‘पुल बन्छ र बागमती तरेर सीधै हेटौंडा जान पाइन्छ भन्ने सपना नौ वर्षदेखि अलपत्र छ,’ हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष कार्साङ लामाले भने, ‘मदन भण्डारी राजमार्गको सडक बन्यो तर पुल बनेन। पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर बागमती नदी तर्नुपर्ने बाध्यता छ।’ सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँद याममा जसोतसो खोलाबाट तर्छन् तर वर्षायाममा वारिबाट पारि जानसक्ने अवस्था हुँदैन। ‘हामीले पुल बनाउन ठेकेदार कम्पनीलाई हरेक वर्ष दबाब त दिन्छौं तर सरकारी सहयोग नहुँदा हाम्रो दबाबले काम गरिहेको छैन,’ उनले भने, ‘पुल नहुँदा धेरै दुःख पाएका छौं तर हाम्रो दुःखबारे न सरकारलाई चासो छ न सडक विभागलाई।’

आयोजनाका इन्जिनियर ओझाले पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई दबाब दिन कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। ‘हरिहरपुरगढी र बागमती जोड्ने बागमती खोलाको पुलको कार्य प्रगति सुस्त भयो भनेर हामीले विभागमा प्रतिवेदन बुझाएका छौं,’ इन्जिनियर ओझाले भने, ‘प्रतिवेदनपश्चात हामीले पेश्कीस्वरूप दिएको बजेटसमेत फिर्ता मागेका छौं।’

हालको सार्वजानिक खरिद नियमावलीअनुसार ५० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनालाई क्षतिपूर्ति दाबीसहित २०७७ जेठ २२ गते निर्माण सम्पन्न गर्ने अन्तिम म्याद दिने तयारी भइरहेको इन्जिनियर ओझाले बताए। त्यो बेलासम्म निर्माण सम्पन्न गर्ने अवस्था देखियो भने २०७७ जेठ २२ सम्मका लागि पुनः म्याद थप हुनसक्ने उनले बताए। ‘ठेकेदार कम्पनीका लागि यो अन्तिम अवसर हुनेछ,’ उनले भने, ‘यो समयमा पनि पुल नबने ठेक्का रद्ध गरी अर्को निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ।’

गत मंसिर पहिलो साता मन्त्रिपरिषद् हेरफेर भएपछि नयाँ मन्त्री र सचिवसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्का लिएर आलटाल गर्ने ठेकेदारको ठेक्का रद्द गर्नसमेत निर्देशन दिएसँगै पुल बन्नेमा यस क्षेत्रका स्थानीयमा आशा पलाएको थियो। तर प्रधानमन्त्रीको निर्देशनको प्रभाव मदन भण्डारी राजमार्गमा पर्ने बागमती पुल निर्माणको काममा पर्न सकेको छैन।

प्रकाशित: २७ मंसिर २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App