१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरका सबै स्थानीय तहमा ‘१६ दिने अभियान’ सम्पन्न

उदयपुर- सोमबारदेखि सकिएको २८औं महिला ‘हिंसाविरुद्धको १६ दिने अभियान उदयपुरका सबै स्थानीय तहमा भव्यरुपमा सम्पन्न भएको छ। विगत वर्षहरुमा सदरमुकाम र मुख्य बजारमा मात्र सञ्चालन हुँदै आएको अभियान यो वर्ष फरक तरिकाले मनाउने क्रममा जिल्लाका ४ नगर र ४ गाउँपालिका सबैका वडाहरुमा पुगेर चलाइएको आयोजक समितिले जनाएको छ।

जस अनुसार जिल्लाका ७५ वटै वडामा हिंसाविरुद्ध अभियानका गतिबिधिहरु गरिएको आयोजक मूल समारोह समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति उपप्रमुख गंगा राईले बताइन्। उनका अनुसार त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै वडाका बस्तीहरुमा पुगेर अभियान चलाइएको छ भने गाउँपालिका तर्फ लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्लीका पनि सबै वडासम्म पुगेर अभियान सम्पन्न गरिएको छ।

संयोजक राईका अनुसार विगतका वर्षहरुमा अधिकांश कार्यक्रम सदरमुकाममा मात्र केन्द्रीत गर्दा जनगुनासो बढेपछि यो वर्ष अभियानलाई विकेन्द्रीत गर्दै गाउँगाउँ लगिएको हो। जसका लागि मूल आयोजक समितिले अभियान सुरु हुनुअघि सदरमुकाममा आयोजित समन्वय बैठकमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर गाउँकेन्द्रीत कार्यक्रम गर्न सुझाएको थियो। गाउँकेन्द्रीत कार्यक्रम गर्नकै लागि विगत भन्दा यो वर्ष ८ गुणा बढी गतिबिधि गर्ने कार्यतालिका तय गरिएको संयोजक राईले बताइन्।

यो वर्ष ‘समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ हिंसाविरुद्ध गतिबिधिहरु गरिएको आयोजकले जनाएको छ। अभियान अन्तरगत सदरमुकामबाट संभव भएसम्म जिल्ला तहका अगुवाहरुको सहभागितामा स्थानीय तहमा गएर कार्यक्रम गरिएको र सम्भव नहुने ठाउँमा स्थानीय जनप्रतिनिधि र अधिकारर्मी तथा नागरिक अगुवाहरुको सहभागितामा कार्यक्रम गरिएको समिति सदस्य तथा गैसस महासंघ प्रदेश १ की प्रमुख महेश्वरी राईले बताइन्।

गाउँकेन्द्रीत गतिबिधि गर्ने क्रममा जिल्लाको लिमचुङबुङका ५ वटै वडामा हिंसाविरुद्ध अभियान चलाइएको गाउँ संयोजक तथा उपाध्यक्ष रमिला राईले बताइन्। उनका अनुसार लिमचुङबुङमा ‘समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता, लैंगिक समानताको मूल आधारः संरचनात्मक बिभेदको अन्त्य’ भन्ने नारा तय गरेर ५ वटै वडामा अभियान चलाइएको थियो। जस अनुसार मंसिर ९ गते गाउँपालिका केन्द्र बाराहाबाट सुरु भएको अभियान ११ गते १ नं. वडाको बास्बोटे, १३ गते २ को ताम्लिछा, २० गते ४ नं. बलम्ता, २१ गते ५ को जाँते र २४ गते ३ नं. अर्थात केन्द्र बाराहामै कार्यक्रम गरी समापन गरिएको उपाध्यक्ष राईले बताएकी छिन्।

त्यस्तै ताप्ली गाउँपालिकाले पनि ५ वटै वडामा अभियान चलाएको उपाध्यक्ष कमलमाया राईले बताएकी छिन् भने रौतामाई उपाध्यक्ष कुमारी आलेज्यु ठकुरीका अनुसार ८ वटै वडामा बिबिध गतिबिधिका साथ भव्यरुपमा हिंसाविरुद्धको अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। उता उदयपुरगढी गाउँपालिकाले पनि ८ वटै वडामा महिलाहरुको सर्वपक्षीय व्यापक सहभागितामा हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ। आयोजक समिति सदस्य सिर्जना दनुवारका अनुसार जिल्लाभरीको कार्यक्रम अवधिभर ५० हजार बढीको सहभागितामा हिंसाविरुद्ध अभियान सम्पन्न भएको छ।

प्रकाशित: २५ मंसिर २०७६ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App