११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बन्ने

काठमाडौं – काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ। काठमाडौं महानगरपालिका सहरी योजना आयोगले तयार पारेको गुरुयोजनाको मंगलबार भएको छलफल कार्यक्रमका सहभागीले तत्कालै गुरुयोजना कार्यान्वयन गर्न सुझाव दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले साइकलयात्रुसँगै पैदलयात्रुलाई सहज ढंगले व्यवस्थित गराउनेतर्फ महानगर अग्रसर भएको बताए। ‘सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल अत्यावश्यकजस्तै भइसक्यो,’ उनले भने, ‘ठूला सवारी, साइकलयात्रु र पैदलयात्रीसँग समन्वय गरेर अघि बढ्नुपर्ने देखिएको छ।’ प्रशासकीय अधिकृत न्यौपानेले काठमाडौं सहरको सडक सहरी चरित्रको भन्दा पनि राजमार्ग चरित्रको हुँदा यात्रुमैत्री हुन नसकेको बताए। ‘अब सहरी क्षेत्रमा सहरी खालकै सडकमा परिणत गर्न जरुरी छ,’ उनले भने, ‘महानगरभित्र साइकल लेनलाई उच्च प्रथामिकता राख्दै आइरहेका छौं।’

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले माइतीघर–तीनकुने सडकखण्डबाट साइकल लेनको सुरुआत गर्न खोजेको बताए। ‘माइतीघर–तीनकुने सडकखण्डमा साइकल लेन सुरुआत मात्रै हो,’ उनले भने, ‘महानगरले क्रमशः सम्पूर्ण महानगरभित्र नै विस्तार गर्नेछ।’ उपाध्यक्ष बस्नेतले माइतीघर–तीनकुने सडकखण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि विस्तार गरिने बताए। महानगरको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले एक खण्डसँग अर्को खण्ड जोडेर लैजान सके मात्र कार्यक्रम सुरुआतले दिगोपना पाउने धारणा व्यक्त गरे। वडाध्यक्ष तन्डुकारले ६ वर्षअघि तयार भएको साइकल लेन सञ्चालनमा ल्याउन नसक्नु कमजोरी भएको औंल्याउँदै अब सम्पूर्ण निकायसँग समन्वय गरेर साइकल लेन सञ्चालन गरिने बताए।

‘यात्रामा पहिलो प्राथमिकता पैदलयात्रीको हुन्छ। त्यसैले जुनसुकै पूर्वाधार तयार पर्दा पनि पैदलयात्रुलाई लक्षित गरेर बनाउनुपर्छ,’ वातावरणविद् भूषण तुलाधारले भने, ‘उपत्यकामा साइकल लेन अनिवार्यजस्तै भएको छ। त्यसैले एक ठाउँमा मात्रै होइन। उपत्यकाभरि नै साइकल लेन बनाउन आवश्यक देखिन्छ।’ वातावरणविद् तुलाधरले सहरका सडक डिजाइन गर्दा गाडीलाई हेरेर पूर्वाधार बनाइएकाले समस्या आएको बताए। ‘एउटा गाडीका लागि आवश्यक ट्र्याकमा तीनवटा साइकल लेन बनाउन सकिन्छ। यी लेनबाट गाडीमा भन्दा धेरै मानिस यात्रा गर्न सक्छन्,’ उनले भने,‘ विगतमा भएको सडक निर्माणको कमजोरी भएको थियो। अब त्यो कमजोरीलाई सुधार गरेर सडक निर्माण गर्न आवश्यक छ।’

नेपाल साइकल सोसाइटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकल यात्रा व्यवस्थापनका विषयमा गरिएको अध्ययनले माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा प्रतिघन्टा ४६ जना साइकल यात्री गुड्ने गरेको देखाएको छ। ‘यसमध्येका ६१ प्रतिशत यात्री सामान्य साइकल गुडाउँछन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘तीमध्ये ८१ प्रतिशत प्रयोगकर्तालाई साइकल ट्र्याक छ भन्ने जानकारी छैन।’ काठमाडौंको सडकमा गुड्ने करिब साढे ६ लाख सवारीसाधनको १.५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्यांकले देखाएको छ। भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौं उपत्यका पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकूल मानिन्छ। छोटो तथा मध्यम दूरीका लागि सहरका प्रायः सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ। तर उपयुक्त भौतिक पूर्वाधार तथा नीतिनियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न सहरवासीलाई कठिनाइ भइरहेको छ। यसबेला माइतीघर तीनकुने साइकल ट्र्याकको सञ्चालन तयारीलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित: २५ मंसिर २०७६ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App