coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार सुरु

काठमाडौं – वर्षाैंदेखि हिलाम्मे, धुलाम्मे जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत तथा विस्तार कार्य अगाडि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएसँगै जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ। बिहीबार मन्त्रालयले उक्त निर्णय गरेसँगै सडक विस्तार कार्य अगाडि बढेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले बताए।

सो सडक मर्मत तथा विस्तार २०७३ असारमा भएको ठेक्का सम्झैता अनुसार ०७५ असारमा सकिनुपर्ने थियो। सम्झौताअनुसार काम नभएपछि स्थानीयवासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै समय समयमा विरोध प्रदर्शन गर्दै आएका थिए। यसअघि सडक विस्तारका लागि छेउछाउका नौ सय घर भत्काउने विषयमा स्थानीयवासीसँग सहमति नहुँदा अलमल भएको थियो।

सम्झौताअनुसार अब ०७७ असार मसान्तसम्म साइड क्लियर भएका स्थानमा कालोपत्रे गरिसक्नुपर्ने छ। सडक विस्तार र कालोपत्रे गर्ने कामको जिम्मा आशिष सिएम जेभी कम्पनीले पाएको छ। सम्झौता अनुसार एक महिनाभित्र गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउनुपर्ने छ।

विद्युत्का पोल हटाउन विद्युत् प्राधिकरणलाई जिम्मा दिइएको छ भने सडकमा पर्ने टेलिफोनका तार व्यवस्थापन गर्न नेपाल टेलिकमलाई जिम्मा दिएको प्रवक्ता ढुंगानाले बताए। उनले भने, ‘स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार सुरु गरेको हो। सार्वजनिक जग्गा भएको स्थानमा सडक केन्द्रबाट दायाँबायाँ ११–११ मिटर र निजी जग्गा भएको ठाउँमा दायाँबायाँ सात–सात मिटर गरी विस्तार कार्य सुरु भएको उनले बताए।’

प्रकाशित: २२ मंसिर २०७६ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App